logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

तीन लघुबित्त एक हुन सकेनन्


  • जन आकाश
  • बिहिबार, पुष २३ २०७७

काठमाडौ । मर्जरको बाटोमा अघि बढेका ३ लघुवित्त वित्तीय संस्थाबीचको मर्जर हुन सकेनन् । आरम्भ चौतारी लघुवित्त, सीआईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच मर्जरमा जाने गरी असोज ९ गते प्रारम्भिक रुपमा सहमति भएको थियो । तर, करिब ३ महिनाको छलफलपछि संस्थाको मर्जर नहुने निश्चित भएको हो । आपसमा कुरा मिल्न नसकेपछि नेपाल राष्ट्र बैङ्कले समेत मर्जर प्रक्रिया असफल भएको भन्दै आरम्भ चौतारीको शेयर कारोबार खुला गर्न सिफारिस समेत गरिदिएको छ ।



आरम्भ चौतारी लघुवित्त र सीवाईसी लघुवित्तबीचको विवादका कारण तीनवटा संस्थाबीचको मर्जर अन्तिम अवस्थामा बिग्रीएको हो । यी दुवै संस्था राष्ट्रिय स्तरको लघुवित्त संस्थाहरु हुन् । आरम्भ चौतारीको चुक्ता पुँजी २६ करोड भन्दा माथि छ । सीआईसी लघुवित्तको ७ करोड रुपैंया तथा शालिग्रामको चुक्ता पुँजी १ करोड ६८ लाख रुपैंया छ । तीनवटा लघुवित्तबीच मर्जर हुँदा चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ भन्दा बढी पुग्ने अवस्था थियो । तर, मर्जर भाँडिएसँगै ती संस्थाहरु पुरानै अवस्थामा फर्किएका छन् ।

किन भएन त मर्जर ?

संस्थाको सञ्चालक समिति तथा व्यवस्थापकीय तहमा कुरा मिल्न नसक्दा मर्जरमा समस्या आएको हो । मर्जर हुँदाको बखतमा संस्थाका ७ जना सञ्चालकमध्ये २ जना सीवाईसीबाट र ५ जना आरम्भ चौतारीबाट बन्ने प्रारम्भिक सहमति भएको थियो । प्रमुख कार्यकारी अधिकृत भने खुला प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई ल्याउने समझदारी भएको थियो । त्यस्तै, स्वाप रेसियो भने डीडीएले तय गरेबमोजिम हुने सहमति भएको थियो ।

तर, सञ्चालक समिति अध्यक्ष र सञ्चालक समितिमा बहुमत समेत आरम्भ चौतारीकै हुने भएकोले प्रमुख कार्यकारी अधिकृत भने सीवाईसीबाट राख्नुपर्ने माग सीवाईसी पक्षले गरेपछि समस्या उत्पन्न भएको आरम्म्भ चौतारी पक्षको आरोप छ । आरम्भ चौतारी लघुवित्तका अध्यक्ष जगत पोखरेलले मर्जरका लागि आफूहरुले छाती फराकिलो बनाए पनि मर्जर सम्भव नभएको बताए ।

‘हामी २६ करोड पुँजी भएको संस्थाले पनि ६ करोड पुँजी भएको संस्थासँग मर्जरमा जाने र सञ्चालक समिति र व्यवस्थापनमा समेत चित स्थान दिन तयार भएका हौँ । उहाँहरुले प्रमुख कार्यकारी अधिकृत पनि चाहिने आशय देखाउनुभयो,’ पोखरेलले भने, ‘राष्ट्र बैङ्कले मागेको विवरण समेत समयमा उपलब्ध नगराउन थालेपछि छुट्टाछुट्टै जाऔं भन्ने सहमति भएको हो । गरेको सम्झौता मर्जर गर्न नसकेकोमा दुःख लागेको छ ।’

मर्जर समितिका संयोजक समेत रहेका सीवाईसी लघुवित्तका सञ्चालक डोलेन्द्र पौडेल भने समस्यामा रहेका अरु संस्थाहरुलाई पनि आरम्भले निरन्तर एक्वाएर गर्न थालेपछि अहिलेलाई मर्जर नगर्ने भनिएको बताउँछन् । ‘हाम्रो योजना र उहाँहरुको योजना फरक देखियो । उहाँहरुले अरु संस्थालाई समेत एक्वाएर गर्नेगरी सहमति गर्नुभयो,’ पौडेलले भने, ‘मर्जर गरेर राम्रो र ठूलो संस्था बनाउने हाम्रो पनि उद्देश्य हो । तर, जथाभाबी संस्थालाई लिएर जाने हाम्रो उद्देश्य होइन । अब साना संस्थाहरु लिएर त्यसको व्यवस्थापन भएपछि छलफल गरौंला भनिएको हो ।’

अरु संस्थासँग मर्जरको तयारी

तीनवटा संस्थाबीचको मर्जर असफल भएसँगै मुख्य साझेदारको रुपमा रहेका आरम्भ चौतारी र सीवाईसी अन्य संस्थालाई एक्वायर गर्ने दिशामा अघि बढेका छन् । मर्जर हुन नसकेपछि आरम्भ चौतारीले बीपीडब्ल्यु लघुवित्त र देउराली लघुवित्तलाई आफूमा गाभ्नेगरी समझदारी गरिसकेको छ । देउराली लघुवित्त बुटवल केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको लघुवित्त हो । बीपीडब्ल्युको भने बनेपामा केन्द्रीय कार्यालय छ । एक्विजिसन भएकोले बोर्डमा दुवै संस्थाको प्रतिनिधित्व हुने छैन । स्वाप रेसियो भने डीडीएकै आधारमा तय हुने सहमति भएको आरम्भ चौतारीका अध्यक्ष पोखरेलले बताए । नयाँ संस्थाको केन्द्रीय कार्यालय समेत तत्कालका लागि आरम्भ चौतारीको बनेपास्थित कार्यालय नै हुनेछ ।

उता, सीवाईसीले पनि नयाँ संस्थासँग मर्जर वा एक्विजिसनमा जान छलफल तीब्र बनाएको छ । पुस २८ गतेको साधारणसभा लगत्तै नयाँ संस्थासँग मर्जर वा एक्विजिसनको सहमति गरेर नयाँ सन्देश दिने सीवाईसीका सञ्चालक पौडेलले बताए ।

‘हामी मर्जरमा जाँदैछौँ । छलफल गरिरहेका छौं । तर, अब सहमति भएपछि फेरि पछाडि फर्कन नपर्नेगरी अघि बढिरहेका छौं । कतिपय संस्थामा एलओआई पाएपछि समस्या आउने गरेको देखियो । कतिपय मर्जरमा गएपछि समेत समस्या भएको देखियो । हामी समस्या नआउने र निष्कर्षमा पुग्नेगरी मर्जरको नयाँ सहमति गर्दैछौं ।’

 

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend