logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • बिहिबार, पुष २८ २०७९

 



काठमाडौ । सिभिल बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा मिति २०७९ पौष २८ गते बिहिबार कालिका स्थित अमृतभोग बैंक्वेटमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रति शेयर ०.२६% नगद लाभांश वितरण गर्न सर्व सम्मतीले स्वीकृत प्रदान गरेको छ ।

साथै सभाले मिति. २०७९/८० को लेखा परिक्षण गर्नको लागि “एसराई एण्ड एशोसियट्स”लाई लेखा परिक्षकमा नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००ः ८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरेको छ ।

साथै सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कन कर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट) समझदारी पत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कार्यवाही हरुलाई अनुमोदन गरिएको छ ।

यसै प्रसङ्गमा सिभिल बैंकको प्राप्ति गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्ध पत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गरिएको छ ।

उक्त साधारण सभाका सबै प्रस्तावहरु पारित गर्नु भएकोमा सभामा उपस्थित सबैलाई बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले धन्यवाद दिनुभयो । साथै सिभिल बैंकको मर्जर कमिटीलाई विशेष आभार प्रकट गर्दै नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पश्चात दुवै बैंकको एकिकृत कारोवार २०७९ माघ भित्र गरिने योजना रहेको कुरा बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले बताउनु भयो ।

करिव ८ लाख भन्दा बढी ग्राहक हरुलाई ११५ शाखाहरु, १३ एक्सटेन्सन काउन्टरहरु तथा १०२ एटिएम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८६ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend