जन आकाश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा बढ्दै गएको अन्धभक्ति र आफूलाई भगवानका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन्। उनले ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गर्दै धार्मिक आस्था र योग दर्शनका विषयमा आफ्नो धारणा राखेका हुन्।
मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पार्वतीले देवताहरूलाई श्राप दिएपछि नक्कली भगवान जन्मिन थालेको प्रसङ्ग उल्लेख गरेका थिए। उनले दक्षिणतिरबाट आउने जोगीहरूलाई देख्नेबित्तिकै खुट्टा समातेर ढोग्ने प्रवृत्तिप्रति पनि व्यङ्ग्य गरे।
ओलीले पछिल्लो समय योगलाई ईश्वरवादसँग जोडेर व्याख्या गर्ने गरिएको दाबी गर्दै योग दर्शनको मूल उद्देश्य स्वस्थ शरीर र स्वस्थ मस्तिष्कको विकास गर्नु रहेको बताए।
उनका अनुसार अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्यको मार्गमा हिँड्न, शान्ति कायम गर्न तथा अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउँछन्। यस्ता नैतिक मान्यतालाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए।
अध्यक्ष ओलीले सत्य, न्याय र मानवतावादलाई विचार निर्माणको आधार बनाउनुपर्ने धारणा पनि राखे। मानिसले आफ्नो जायज हकमा सीमित रहनुपर्ने र अरूको सम्पत्तिप्रति लोभ गर्नु नहुने उनको भनाइ थियो।
पतञ्जलीको योग दर्शनमा आइपुग्दा योग ईश्वरवादसँग जोडिएको दाबी गर्दै ओलीले सांख्य र शैव दर्शनमा योगको व्याख्या फरक रहेको उल्लेख गरे। आदियोगी शिवको योग दर्शनले स्वस्थ शरीर र स्वस्थ मस्तिष्कमा जोड दिने उनको भनाइ थियो।
योगले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग गर्ने उल्लेख गर्दै ओलीले योग दर्शनका नैतिक पक्षलाई जीवनमा अपनाउनुपर्ने धारणा व्यक्त गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend