logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महाशिवरात्रिको तयारी  पशुपति क्षेत्रमा


  • जन आकाश
  • आइतबार, माघ २९ २०७९

 



काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान सुरु गरिएको छ । विशेष सफाइ अभियानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैँ सफा र पवित्र राखिनुपर्नेमा जोड दिए । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्नसके राष्ट्रिय अर्थतन्त्रको वृद्धिमा सहयोग हुने उनको भनाइ थियो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गरेका थिए । पशुपति क्षेत्रलाई सधैँ सफा राख्न पनि उनले कोषका उच्च अधिकारीलाई निर्देशन दिए । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि आवश्यक सबै काम गर्न उनले मूल समारोह समिति अन्तर्गत गठन भएका नौ वटै उपसमितिलाई निर्देशन दिएका छन् । मूल समारोह समितिको अध्यक्ष मन्त्री किराँती नै रहेका छन् ।

सफाइमा कोषका सदस्य सचिव डा.मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा लगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय सङ्घसंस्था लगायतको सहभागिता रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend