जन आकाश
काठमाडौ । वीरगन्ज विश्व हिन्दू परिषद नेपाल र वीरगञ्ज महानगरपालिकाको संयुक्त आयोजनामा फागुन १ गते वीरगन्ज स्थित पशुपतिनाथ मन्दिरमा भव्य सांस्कृतिक तथा धार्मिक कार्यक्रम ‘प्रवचन एवं महाआरती’ कार्यक्रम सम्पन्न गरिएको छ । मन्दिरको सांस्कृतिक तथा धार्मिक महत्व फैलाउने उद्देश्यले दिउँसो ३ः३० बजे कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि काशी विश्वनाथका पुजारी डा.श्रीकान्त मिश्र र विशेष अतिथि जानकी मन्दिरका उत्तराधिकारी महन्थ श्रीराम रोशन दासले सान्दर्भिक प्रवचन दिनुभएको थियो । प्रवचन पश्चात महाआरतीको कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा वीरगञ्जका मेयर र उपमेयर महानगरपालिकाका सद्भावना दुत अशोक वैद्य, महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल तथा विहिप नेपालका महासचिव जितेन्द्र कुमार सिंह र संगठन सचिव प्रल्हाद रेग्मीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा परिषद्का स्थानिय पदाधिकारी कार्यकर्ताहरु एवं विविध धार्मिक साँस्कृति संगठनका प्रतिनिधिहरु समेत करिब २००० भक्तजनहरुको उपस्थिति रहेको थियो भने वीरगञ्जका मेयरले वीरगन्जलाई सांस्कृतिक नगरको रुपमा स्थापित गर्न हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जितेन्द्र कुमार सिंहले विश्व हिन्दू परिषद् नेपालको सांगठनिक परिचय दिएका थिए भने कार्यक्रमको समापन विश्व हिन्दू परिषद् नेपालका संगठन सचिव प्रल्हाद रेग्मीले धन्यवाद ज्ञापन गर्दै समापन गरेका थिए ।
वीरगञ्ज महानगरपालिका नेपालको धार्मिक र सांस्कृतिक सहर हो । यहाँ विभिन्न संस्कृतिको संगम रहेको छ । यो शहर पुण्य सलिला श्रीसिया नदीको पवित्र किनारमा अवस्थित छ । यो त्यही नदी हो जसको बारेमा माता सीताले आफ्ना दुई छोरा लव र कुशलाई यहाँ नुहाएको जनविश्वास छ । यसको पानीमा छाला रोग निको पार्ने क्षमता रहेको लोक मान्यता रहेको छ । पिपरा वीरगन्जको बीचमा रहेको एउटा पुरानो गाउँ हो । यस गाउँमा दुई पटक विश्व हिन्दू सम्मेलन समेत भइसकेको छ । यहाँ काठमाडौंमा रहेको पशुपतिनाथ मन्दिरको प्रतिकृति पुरानो पशुपतिनाथ मन्दिर रहेको छ । काठमाडौं जान नसक्नेहरू यहाँ भाकल गर्छन् । मन्दिरको अगाडि ठूलो पिपरा सरोवर छ । यो मन्दिर धेरै कलात्मक रूपमा प्यागोडा शैलीमा बनाइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend