जन आकाश
काठमाडौ । चितवन–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने भएपछि यसअघि प्रतिस्पर्धामा रहेकाले पुनः उम्मेदवार हुने चाहना व्यक्त गरेका छन् । मुख्य तीन राजनीतिक दलका पुरानै उम्मेदवारले प्रतिस्पर्धा गर्ने चाहना व्यक्त गरेका हुन् ।
सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का सभापति रवि लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतले सांसद पद नरहने गरी निर्णय गरेपछि उपनिर्वाचन हुन लागेको हो । लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ मत प्राप्त गरेका थिए । उनलाई नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको समर्थन थियो ।
यसैगरी नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले १४ हजार छ सय ५२ मत प्राप्त गरेका थिए । अन्य उम्मेदवारको मत एक हजारभन्दा कम थियो । सो क्षेत्रमा ८० हजार सात सय ५३ मत सदर भएको थियो । यसअघि निर्वाचित लामिछानेले पुनःआफ्नो उम्मेदवारी रहने बताउँदै आएका छन् । उनी निकट पत्रकार प्रकाश सिग्देलले भने, “पार्टीका सभापति रवि लामिछाने नै यस क्षेत्रको अबको उम्मेदवार हो ।” त्यसका लागि रविले तयारी थालिसकेका छन् ।
आफू दोस्रो भएको भन्दै सांसद बनाउन निर्वाचन आयोग पुगेका श्रेष्ठले अबको उम्मेदवार पार्टीबाट आफू हुनुपर्ने बताए । उनले टेलिफोनमा भने, “म यसअघिको घाइते हो, अब म उम्मेदवार भएर जित्छु ।” यसअघिको निर्वाचनमा आफ्नै पार्टीबाट सहयोग नभएको उनको गुनासो थियो ।
नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भएका पोखरेलले पनि पुनः उम्मेदवार बन्ने चाहना व्यक्त गरे । उनले भने, “पार्टीमा आफ्नो चाहना व्यक्त गर्नेछु ।” दुई पटक सोही क्षेत्रबाट निर्वाचित भएकाले अरुलाई भन्दा आफूलाई सहज भएको उनको तर्क छ । श्रेष्ठ र पोखरेललाई आफ्नो पार्टी र गठबन्धनका मतदाताले मत नदिएपछि अपेक्षा गरिएअनुसार मत नपाएको भन्दै पार्टीभित्र बहस हुँदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend