जन आकाश
काठमाडौं । यातायात व्यवसायी र मजदुरले सोमबार गरेको आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि मात्रै तोडफोड र आगजनी भएन । ल्होत्से मलमा बन्द मोबाइल पसलको सटर खोलेर लुटपाट पनि भयो ।
यसअघि विभिन्न समयमा हुने गरेका आन्दोलनहरुमा सार्वजनिक सम्पत्तिमा तोडफोड, क्षति पुग्ने गरेका दृष्टान्तहरु थिए । तर यसपल्ट प्रदर्शनकारीले व्यक्तिगत सम्पत्तिमै तोडफोड र लुटपाट गर्न थालेको नौलो नजिर बस्न गयो । गृह मन्त्रालयले यसबारे छानबिन गरेर दोषीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । प्रहरीले चार जनालाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ भने सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजका आधारमा अनुसन्धान सुरु भएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले यसको छानबिन थालेको एसएसपी डा.मनोज केसी बताउँछन् । छानबिन र कारबाहीको पाटो सुरु भए पनि यातायात व्यवसायीले आफ्नो माग पूरा गराउन गरेको आन्दोलनको क्रममा निजी सम्पत्तिमा पुगेको नोक्सानी सामान्य छैन । नेपालको संविधान र कानुनले कुनै पनि व्यक्तिलाई उसको निजी सम्पत्तिको हकभोग र सुरक्षा गर्न पाउने, राज्यले त्यसको प्रत्याभूति गर्नुपर्ने प्रष्ट उल्लेख गरेको छ ।
यति हुँदाहुँदै पनि बालाजुका पीडित व्यवसायीहरुको सम्पत्ति तोडफोड, लुटपाटको क्षतिपूर्ति कसरी हुन्छ भन्ने अनिश्चित छ । किनभने आज मंगलबार बिहान सरकारसँग वार्ताका क्रममा ती यातायात व्यवसायीका प्रतिनिधिहरुले हिजो सोमबारको लुटपाटको जिम्मा आफूहरुले नलिने बरु ल्होत्से मलले लिनुपर्ने भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । राज्यपक्ष यस्तो तर्कउपर कडा नीति लिन हिच्किचाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार भएको छलफलका क्रममा व्यवसायीले ल्होत्से मलले यसको जिम्मा लिनुपर्ने बताएका हुन् । जबकि, मलकै सटरमा प्रदर्शनमा सरिक भएकाहरुले लुट मच्चाएको भिडियो फुटेजहरु सार्वजनिक भएका छन् । तीमध्ये केही त सोमबार साँझसम्म समातिइसकेका नै छन् ।
आन्दोलनकारीले ध्यान पुर्याउन सकेको देखिँदैन । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की असम्बन्धित व्यक्तिको पसल खोलेर लुटपाट गर्ने कार्यमा संलग्न व्यक्ति यातायात व्यवसायी वा मजदुर हुनै नसक्ने बताउँछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend