जन आकाश
काठमाडौं । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले फागुन २५ गतेका लागि निर्धारण गरेको निर्वाचनका लागि पौडेल र नेम्वाङले फरक–फरक समयमा संसद भवन पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार दुवै जनाले पाँच–पाँच जना प्रस्तावक र समर्थक राखेर उम्मेदवारी दर्ता गराएका छन् ।
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जसपाका उपाध्यक्ष अशोक राई र जनमत पार्टीका नेता मो.अब्दुल खान छन् ।
यस्तै, समर्थकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी नेता हितराज पाण्डे रहेका छन् ।
नेम्वाङको प्रस्तावकमा केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् । यस्तै, समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेको संसद सचिवालयले जनाएको छ ।
वरिष्ठ नेता पौडेललाई शनिबार बिहान सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति र उपाध्यक्ष नेम्वाङलाई च्यासलमा बसेको सचिवालय बैठकले उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
कांग्रेस उम्मेदवार पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ ।
एमाले उम्मेदवार नेम्वाङको समर्थनमा भने अरु कुनै पनि दल खुलेका छैनन् । यद्यपि, कांग्रेसको समर्थनमा नदेखिएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उनलाई मत दिन सक्ने अनुमान गरिएको छ ।
सरसर्ती हेर्दा पुरानो गठबन्धन व्युतने र प्रचण्डलाई सरकारवाट हटाएर शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने खेलमा पुरानै गठबन्धन ब्युताएको काग्रेस शुत्रहरुले बताएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend