logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा


  • जन आकाश
  • बिहिबार, चैत्र १६ २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउना साथै मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएका छन् ।



१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् । यी मन्त्रालयहरु ३ माघको सहमतिअनुसार, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाएका थिए । तर तीन वटै दलले पालैपालो सरकार छोडेपछि १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन् ।

आज बिहान फेरि सत्ता साझेदार दलहरुको बैठक बस्ने, सो बैठकमा प्रधानमन्त्री प्रचण्डले कुन मन्त्रालय कसलाई दिने भनेर सुनाउने र आजै साँझ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । सत्ता साझेदार दलहरुको बुधबार बसेको संयुक्त बैठकमा मन्त्रालय बाँडफाँट लगभग टुंगिएको नेताहरुले बताएका छन् । बैठकपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले बिहीबार साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

संयुक्त बैठकमा नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने समझदारी बनेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend