logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

किन हटाउन लगाइयो श्री ५ बडा महाराजधिराज लेखिएका व्यानरहरु


  • जन आकाश
  • सोमबार, चैत्र २० २०७९

 



विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा राखिएका केही ब्यानर स्थानीय प्रशासनले हटाउन लगाएको छ । जिल्ला प्रशासन कार्यालयको आदेशमा ‘श्री ५ महाराजाधिराज’ लेखिएका ब्यानर आयोजकले हटाएको हो ।

नागरिक अभिनन्दन कार्यक्रमका विषयमा हिजो साँझ आयोजक र स्थानीय प्रशासनका बीच बैठक भएको थियो । बैठकमा सरकारी अधिकारीहरूले ‘गणतन्त्रमा महाराजाधिराज नहुने’ भन्दै ब्यानर हटाउन माथिबाट दबाब आएको बताएका थिए । उनीहरूको सो भनाइपछि आफूहरू ब्यानर हटाउन सहमत भएको राप्रपाका नेता रामु पोखरेलले बताएका छन् ।

अभिनन्दन कार्यक्रमका लागि जिप्रकाले लिखित अनुमतिसमेत दिएको छैन । आयोजकका तर्फबाट अनुमति मागिएपछि जिप्रकाले ‘माथि’ जानकारी गराएको थियो । माथिको निर्देशनअनुसार जिप्रकाले अनुमति नदिएको हो । तर, प्रमुख जिल्ला अधिकारी र आयोजकबीच मौखिक समझदारी भएको छ । त्यही आधारमा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमका लागि सुनसरीको इनरुवा क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ । इटहरीदेखि नै सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ । प्रदेशको नामकरणका विषयमा लिएर कोशी प्रदेशमा आन्दोलन भइरहेको र पूर्वराजासमेत पहिचानवादीको तारोमा पर्नसक्ने भन्दै सुरक्षाकर्मीले चेकजाँच तीव्र बनाएका छन् ।

स्थानीय प्रशासनले पूर्वराजालाई सडकमा पैदल हिँड्नसमेत सुरक्षाको कारण देखाउँदै रोक लगाएको छ । सडकमा सुरक्षा दिन नसक्ने बताए पछि सिधै कार्यक्रम स्थलमा लैजाने तयारी भएको राप्रपाका नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले बताए ।

उनले सुरक्षाको कारण देखाएर प्रशासनले पूर्वराजालाई नागरिकसँग घुलमिल हुन रोक लगाएको आरोप लगाएको गुनासो गरे ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सरकारी हर्कतको विरोध गरेका छन् ।

उनले लेखेका छन्, ‘काठमाडौंमा जनआवाजलाई हत्केलाले थुनेर दबाउन खोज्नेहरुले इनरुवामा हुने राजाको जनअभिनन्दनका ब्यानर हटाउने आदेश दिएछन् फेरि भन्छौं( कसैलाई निषेध नगर, शासकीय अहंकार बन्द गर ।’

पछिल्लो समय गणतन्त्रमा बिकृति र बिसंगतिले मानिसहरु आजित बनाउदै लगेपछि गणतन्त्र भन्दा राजतन्त्र नै ठिक भन्ने माहोल बन्दै गएको र प्रदेशको बिषयले १ न. प्रदेशमा कोशी प्रदेश नामाकरण भएपछि पुरै कोशी प्रदेश आन्दोलित छ ।

यहि समयमा पुर्व राजा ज्ञानेन्द्र वीरविक्रम शाहको पुर्वमा हुन लागेको भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend