जन आकाश
काठमाडौं । सिक्किमको गान्तोक–नाथुला सडक खण्डमा हिमपहिरोमा परी तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । करिब एक दर्जन घाइते भएका छन् ।
मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल , रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको गान्तोकका अधिकारीहरुले जनाएका छन् । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् ।
गान्तोक जिल्लाका कलेक्टरले सार्वजनिक गरेको मृतक र घाइतेहरुको नामावलीमा ३ जना नेपालीको मृत्यु भएको र तीन जना नेपाली घाइते भएको उल्लेख छ । घाइते हुने नेपालीहरुमा ४० वर्षीया गिता सापकोटा, ३८ वर्षीया ज्योती गुरुङ र ४३ वर्षीय रमेश खनाल रहेकाछन् ।
स्थानीय समय अनुसार मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ ।
१४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । तीमध्ये सात जनाको मृत्यु भएको र अन्य सात जनालाई प्राथमिक उपचार गरी गान्तोक फर्काएको भारतीय सेनाले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend