जन आकाश
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।
त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार सङ्क्रमणकालीन न्याय निरुपण सम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित भएको र नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए । सङ्क्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धी विधेयक संसद्मा पेस भैसकेको समेत उनले बताएका थिए ।
राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफू र आफ्ना कूटनीतिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए । राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए । राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend