logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

महासंघ प्रतिनिधि र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठबीच भेटघाट


  • जन आकाश
  • आइतबार, चैत्र २६ २०७९

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी रोकिँदा अर्थतन्त्र चलायमान नभएको स्विकार गर्नु भएको छ ।



निर्माण व्यवसायीहरूको रकम भुक्तान गर्ने विषयमा सरकार सकारात्मक रहेको समेत उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उपाध्यक्ष श्रेष्ठले निर्माण उद्योगमा धेरै समस्या रहेको बताउँदै सबै मिलेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

जग्गा प्राप्ती, बजेट तथा निर्माण सामग्रीको अभाव, समुदायको अवरोध लगायतका समस्याहरूबाट निर्माण व्यवसायीहरू आक्रान्त रहेको उपाध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘महासंघ जस्तो छाता संगठनले निर्माण व्यवसायीहरूलाई अझ बढी जिम्मेवार बनाउन सक्ने भएकाले महासंघको भूमिका अझ बढी प्रभावकारी हुनुपर्छ’ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

महासंघ अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे उपाध्यक्ष श्रेष्ठलाई अवगत गराउँदै सरकारी कार्यशैलीकै कारण निर्माण उद्योग व्यवसायीक हुन नसकेको बताउनुभयो । बजेटको व्यवस्था नगरी टेण्डर आह्वान गर्ने परिपाटी गलत रहेको भन्दै अध्यक्ष सिंहले निर्माण व्यवसायीले आफ्ने मु्लुकको स्रोत साधन उपभोग गर्न नपाउने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभयो ।

सार्वजनिक खरिद ऐन अनुसार व्यवसायीले बीस प्रतिशत मोबिलाइजेशन पेश्की पाउनुपर्ने माग राख्दै उहाँले मूल्यवृद्धिको मारमा परेका व्यवसायीहरूले राहत नपाएको जानकारी दिनुभयो ।

राष्ट्रिय योजना आयोग जस्तो संस्थाले कसैको दबामा नपरी निर्भिक भएर काम गर्नुपर्ने सुझाव अध्यक्ष सिंहले दिनुभयो । निर्माण उद्योगको विकासका लागि आगामी बजेटमा समेटिनु पर्ने विषय बारे पनि महासंघले माननीय उपाध्यक्षज्यूको ध्यानाकर्षण गराएको छ । महासंघ प्रतिनिधिमण्डलमा महासचिव रोशन दाहाल, कार्यालय प्रमुख प्रेम सिंह ऐर लगायत रहनु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend