जन आकाश
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन् । बुधबार सम्पन्न महासंघको निर्वाचनबाट उनले ३७.९९ उमेशलाल श्रेष्ठले ३१.५५ र रामचन्द्र संघईले ३०.४६ प्रतिशत मत ल्याएका थिए ।
पहिलो र दोस्रो हुनेबीच सहमति गरेर अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । पूर्व अध्यक्षहरू, वर्तमान वरिष्ठ उपाध्यक्ष तथा भावी अध्यक्ष चन्द्र ढकाल लगायतको रोहबरमा गरिएको छलफलबाट अन्जनलाई छोड्न उमेश सहमत भएका हुन् ।
स्रोतका अनुसार उमेशलाई महासंघको विशिष्ट सदस्यका रूपमा राख्न अन्जन सहमत देखिएका छन् । यसअघि पूर्वअध्यक्ष मध्येबाट विशिष्ट सदस्य राख्ने गरिएको थियो । बुधबार भएको निर्वाचनमा तीन उपाध्यक्षसहित सात प्रदेश सदस्य, १८ र जिल्लानगर सदस्य, १४ वस्तुगत सदस्य, १९ एसोसिएट सदस्यका साथै एक द्वीराष्ट्रिय सदस्य निर्वाचित भइसकेका छन् ।
जिल्लानगर र एसोसिएट उपाध्यक्षमा संघई समूहका सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ समूहका हेमराज ढकाल विजयी भएका छन् । अन्जन पोखराबाट अघि बढेका व्यावसायिक घराना लक्ष्मी ग्रुपका सदस्य हुन् ।
परिवारले सञ्चालन गरेको सानो मिठाइ व्यापारबाट अघि बढेको उनको व्यावसयिक यात्रा अहिले धेरै क्षेत्रमा फैलिएको छ । अन्जनका अनुसार ४९ वर्षअघि ३०० रूपैयाँ लगानीको मिठाइ व्यापारबाट उनको व्यावसायिक यात्रा सुरू भएको थियो । आफैं व्यवसाय क्षेत्रमा संलग्न भएको ३० वर्षभन्दा बढी भएको उनी बताउँछन् ।
सन् १९७३ मा लक्ष्मी मिठाइ भण्डारबाट सुरू भएको यात्रा २०२३ सम्म आइपुग्दा दूधजन्य उत्पादनका साथै, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ । मिठाइ व्यवसायबाट सुरू गरेको यात्रा डेरी उत्पादन, प्याकेजिङ उद्योग, अटोमोबाइल्स, डन्डी, स्टिल हुँदै खाद्य उद्योगसम्म विस्तार भएको छ ।
लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीले उत्पादन गर्ने कन्फेक्सनरी, चकलेट लगायत उत्पादन विश्व बजारमा समेत परिचित छन् । सुजलका ४० भन्दा बढी कन्फेक्सनरी ब्रान्ड बजारमा छन् । लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक अन्जन श्रेष्ठका अनुसार १४ वटा देशमा सुजलका उत्पादन निर्यात भइरहेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलियाका साथै, एसिया, अफ्रिका तथा मध्यपूर्वका राष्ट्रमा यी उत्पादनहरू निर्यात हुने गरेका उनले जानकारी दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend