logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद हुँदै


  • जन आकाश
  • आइतबार, बैशाख ३ २०८०

काठमाडौ । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ ।



डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ भने प्रदेश सरकारका मन्त्रि र मुख्यमन्त्रिको सहभागितामा प्यानल सेसन संचालन हुनेछ ।

संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि महत्त्वपूर्ण बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष ‘फोस्टरिङ डिजिटल्ली सक्षम प्रदेश’ नारा सहित आयोजना हुन लागेको संवाद कार्यक्रममा प्रदेश डिजिटल रुपान्तरणको कति सक्षम छ भन्ने बिषयमा केन्द्रित हुनेछ ।

गत वर्ष पनि आइसीटी फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना गरेको थियो । यस वर्ष पनि वैशाख ४ गते कोशी प्रदेशको राजधानी विराटनगरमा डिजिटल कोशी संवाद आयोजना हुनेछ । त्यस्तै वैशाख ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा डिजिटल मधेस संवाद र वैशाख ८ गते बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल बागमती संवाद आयोजना हुनेछ ।

त्यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बैशाखको अन्तिम साता डिजिटल प्रदेश संवाद हुने जनाइएको छ । यस वर्ष गण्डकी प्रदेशको पोखरामा प्रदेश संवादको समापन हुने आयोजकले जनाएको छ ।

सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ । आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा जुन तेस्रो साता काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने जानकारी दिएको छ । गत वर्षदेखि प्रदेश सहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend