logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

सवारी दुर्घटनामा तीन जनाको मृत्यु


  • जन आकाश
  • आइतबार, बैशाख १० २०८०

काठमाडौँ । काठमाडौँ र ललितपुरमा आज भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।



प्रहरीका अनुसार काठमाडौँको चन्द्रगिरि नगरपालिका–१० सतुङ्गलमा बा  ५ ख ७००४ नम्बरको हाइस गाडीलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई एउटा मोटरसाइकल सोही गाडीमुनि पर्दा मोटरसाइकल चालक पाल्पा तानसेन नगरपालिका–३ घर भएका २२ वर्षीय रसिक रामजालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै आजै काठमाडौँ महानगरपालिका–१४ स्थित सडकमा बाप्र–०२–०१९प ९७१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक मकवानपुर थाहा नगरपालिका–७ घर भएका २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कलङ्कीस्थित नेपाल नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उता ललितपुर गोदावरी नगरपालिका–६ टिकाभैरवस्थित सडकमा सोही महानगरपालिका–५ मानभवन बस्ने ४० वर्षीय मनि गुरुङले चलाएको साइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा साइकलयात्री गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend