logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु


  • जन आकाश
  • आइतबार, असोज २८ २०८०

भक्तपुर । जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ ।



घटस्थापनादेखि दशैभरि कुमारीघरमा विराजमान गराई कुमारीजात्रा मनाइने परम्पराअनुसार कुमारीलाई तान्त्रिक विधिअनुसार पूजा गरी भक्तपुर नगरपालिका क्वाठण्डौँस्थित कुमारी घरमा विराजमान गराई पूजा गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद, सामवेद र चण्डी पाठ गरी राजोपाध्याय र कर्माचार्यले कुमारीको पूजा गरी कुमारीजात्रा मनाइने उनले बताए । यो अवधिमा टिबुक्छेँमा रहने ११ जनाको गणकुमारीकोसमेत तलेजु ल्याएर पूजा गरिन्छ । कुमारीलाई आजै दरबारस्क्वायरस्थित चतुर्ब्रह्म महाविहारमा लगेर पूजा गरी पुनःकुमारी घरमा लगेर विराजमान गराएपछि आजदेखि दशमीसम्म कुमारीको पूजा गर्न सर्वसाधारण आउने तलेजुका मूल नाइके जोशीले बताए ।

दशमीको दिन कुमारीको हातबाट तलेजुका पुजारी, मूल नाइके लगायतलाई साइतको टीका लगाइदिएपछि सर्वसाधारणका लागि कुमारीले टीका लगाइदिने परम्परा छ । सोही दिन कुमारीले कुमारी घरबाट आफ्नै जन्मघर जाने इच्छा प्रकट गरेपछि घर लैजाने परम्परा रहेको छ ।

त्यसैगरी नेपालकै मूल तलेजुका रुपमा लिइने भक्तपुर तलेजुमा बैद्धिक एवं तान्त्रिक पद्धतिअनुसार पूजा गरी दसैँघरमा पाञ्चायन निर्णायक समितिले निर्धारण गरेको शुभसाइतमा जमरा राखिन्छ ।  राजा हरिसिंहदेव र देवलदेवीले नेपाल सम्वत् ४४४ मा सिम्रनगढबाट ल्याएर श्री तलेजु भवानीलाई भक्तपुरमा प्रतिस्थापन गरेपछि तलेजु जात्रा मनाउने परम्परा सुरु भएको तलेजुका मूल नाइके जोशीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend