जन आकाश
काठमाडौँ । नेपाल–चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्स्ले डिसेम्बर २८, २०२३ देखि ऐतिहासिक काठमाडौँ–ल्हासा–काठमाडौँ उडान सेवा सुरु गरेको छ ।
यो सेवाबिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ । चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर,ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द हो ।
मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ ।
नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाकाबीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । पहिलो आउट बाउन्ड H9 774, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ८ः४० बजे प्रस्थान गरेको थियो र ल्हासागोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ः००बजे अवतरण गर्ने छ ।
यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा कूलयात्रु संख्या१३६ रहेको थियो । जनवरी १, २०२४ देखि एअरलाइन्स्ले हरेक सोमबार यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्ने छ ।
यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवा हुनेछ । एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ ,छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend