जन आकाश
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली राखुगाउँका कृषकले सुन्तला बिक्री गरेर रु डेढ करोडभन्दा बढी रकम गाउँमा भित्र्याउन सफल भएका छन् । यस वर्ष जिल्लामा समग्रमा सुन्तलाको उत्पादन घटेको जनाइएको छ ।
राखुगाउँका एउटै किसानले रु पाँच लाखदेखि रु नौ लाखसम्म सुन्तला बिक्री गरेर आम्दानी गरेका छन् । राखुकी मनकुमारी पुनले यस वर्ष रु नौ लाखको सुन्तला बिक्री भएको बताए । उनले विगत डेढ दशकदेखि नर्सरी स्थापना गरी सुन्तलाको बिरुवा उत्पादन गर्दै आएका छन् ।
अगुवा कृषक पुनले यस वर्ष अन्यत्र जिल्लाबाट आएका व्यापारीलाई बोटबाटै सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनका लागि जिल्लामै प्रख्यात मानिने तल्लो र माथिल्लो राखुमा रहेका ६५ घरधुरीले यस वर्ष करिब डेढ करोडको सुन्तला फलाएको अर्का अगुवा कृषक खिम पुनले जानकारी दिए । सो गाउँका कृषकले न्यूनतम ३० हजारदेखि नौ लाखसम्मको सुन्तला उत्पादन गरेका छन् ।
यस वर्ष नयाँ बोटले समेत फल दिएकाले आम्दानी बढेको सुन्तला जोन कार्यक्रमका संयोजकसमेत रहेका खिम पुनले जानकारी दिए । “उत्पादन घटे पनि आम्दानी घटेको छैन, सुन्तला खेतीमा लागेका कृषकले घर आँगनमै लाखौँ कमाएका छन् ।”
राखुबाट सुन्तला खरिद गरी सुर्केमेलाको सडकमा ग्रेडिङ गरी काठमाडौँ पठाउन लागेका कृषक पुनले जिल्लामा सबैभन्दा धेरै सुन्तला उत्पादन हुने राखु क्षेत्रको सुन्तला खरिदमा व्यापारीले प्रतिस्पर्धा गर्दा किसानले उचित मूल्यसमेत पाएको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend