जन आकाश
काठमाडौं । गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सुरु भएको छ ।
पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सह-आयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्था छन् ।
मेलामा विभिन्न खालका ३९ वटा स्टल राखिएका छन् । मेलामा आप्रवासी स्रोत केन्द्र, वैदेशिक रोजगार विभाग, बोर्ड, सीजी ग्रुप, सामाजिक सुरक्षा कोष, एनएमबी बैंक, पोखरा महानगर, होङ्सी सिमेन्ट, नेपाल उद्योग वाणिज्य महासंघ, होटल सरोवर, नेपाल उद्योग परिसंघ लगायतका विभिन्न खालका स्टलहरू रहेका छन् ।
मंगलबारसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद समेत हुनेछ । मेलाको पहिलो दिन श्रम आप्रवासन : कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ ।
दोस्रो दिन मंगलबार शिक्षा र रोजगारी बीचको सेतु : कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend