जन आकाश
काठमाडौँ । प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसदहरूले जनसरोकारका विभिन्न विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले जनसरोकारका महत्त्वपूर्ण विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद अनिशा नेपालीले सरकारी कार्यालयमा भ्रष्टाचार हुने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् । उनले स्थानीय सडकहरू राष्ट्रिय राजमार्गसँग जोड्न सरकारले बजेट व्यवस्थापन गर्ने गरेपनि खास प्रगति नभएको भन्दै कतिवटा पालिकामा पक्की सडक पुगे भनेर प्रश्न समेत गरिन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले गुठी विधेयक चाँडै ल्याउनुपर्नेमा जोड दिए । उनले भोगचलन गर्दै आएका किसानहरूकै नाममा जमिनको स्वामित्व हस्तान्तरण हुनुपर्ने बताए ।
जनमत पार्टीका सांसद अब्दुल खानले देशको अवस्था जर्जर भएको टिप्पणी गरे । उनले जनताले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका जनजीविकाका सवालमा गुणस्तरीयता, जीवनोपयोगी र निःशुल्क खोजेको भन्दै राज्यले जनताको कुरा पूरा गर्नुपर्ने बताए ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदबाट समाजवाद नआउने बताए । उनले सुगौली सन्धिदेखि यताका सबै घटनाक्रमहरुको छानबिन गर्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरूलाई राज्य सत्ताले संरक्षण गरिरहेको बताए । उनले राज्यसत्ताको रजाइँ गर्नेहरूले नै सहकारी लुटिरहेका बताए ।
आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले कानुनले प्रतिबन्ध गरेको लागुऔषधको खुलेआम बिक्री वितरण हुने गरेको भन्दै यसमा कडाइ गर्नुपर्ने बताए । उनले लागु औषध आउने स्रोतको सम्बन्धमा अनुसन्धान गर्नुपर्नेमा पनि जोड दिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend