जन आकाश
काठमाडौँ । खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाले जोड दिएका छन् ।
विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले सो विषयलाई जोड दिएका हुन् ।
मन्त्रालयका सचिव राजेन्द्र मिश्रले स्वच्छ खाना खान पाउने सम्पूर्ण आम नागरिकको अधिकार रहेको बताउँदै मन्त्रालयले त्यसतर्फ काम गर्दै आएको दाबी गरे । उनले खाद्य सुरक्षा बहुआयमिक विषय भएकोले यसको अवस्था सुधारका लागि बहुक्षेत्रिय समन्वय र सहकार्यबाट मात्र सम्भव हुने बताए ।
उनले विभागले स्थानीय, प्रदेश र सङ्घ सरकारसँग सहकार्य गरेर स्वच्छ खाद्य सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम गर्न आजको आवश्यकता रहेको बताएका छन् । “केही समयपछि बर्खाको समय आउँदै छ र खाद्य जोखिम पनि उत्तिकै आउँछु उनले भने, त्यसैले तीनै सरकारले यस्तो समयमा सम्वन्य गरेर जनतालाई बचाउन आवश्यक छ ।
उनले मुलुकमा देखा परेको खाद्य सुरक्षाको जोखिमलाई न्यूनीकरण गर्दै खाद्य सुरक्षाको सवाललाई प्रभावकारी बनाउन सरोकारवालाहरूले उच्च पहलकदमी लिनुपर्ने बताए ।
संविधानले मौलिक हक अन्तर्गत प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने उपभोक्ताको हकको व्यवस्था गरेको छ। तसर्थ खाद्य स्वच्छता र गुणस्तरीयताको नियमन कार्यलाई समयानुकूल सुदृढ र प्रभावकारी बनाउन सङ्घीय संसदले “खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१” जारी गरेको छ। यस ऐनले मानव स्वास्थ्यको सुरक्षा तथा उपभोक्ता हित संरक्षणका लागि खाद्य शृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र यसको नियमनको कानुनी व्यवस्था गरेको उनले बताए ।
उनले भने, “ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित खाद्य व्यवसायी, सरकारी एवं गैर सरकारी सङ्घसंस्था, उपभोक्ता हकहितसँग सम्बन्धित सङ्घसंस्था, लगायतका सरोकारवालाहरूको महत्त्वपूर्ण भूमिका खेल्न आवश्यक छ ।”
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend