logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बलात्कार आरोपी शिक्षकलाई कडा कारबाही गर्न माग :शान्ति विक


  • जन आकाश
  • सोमबार, असार १८ २०८१

काठमाडौँ । प्रतिनिधि सभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विकले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन् ।



उनले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरू सुरक्षित हुन नसकेका भन्दै कडा कानुनी व्यवस्था गर्नुपर्ने बताइन् । उनले पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिनका लागि सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन् – ‘खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थित ज्योति मा.वि. पढ्ने १३ वर्षीय बालिका आफू सुरक्षित भएको महशुस गर्न पाइन्  आफ्नै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेजस्तोको गिद्धे नजर स्कुलजस्तो पवित्र थलोमा, शिक्षा क्षेत्रमा बालिकाहरू असुरक्षित छन् भन्ने कुराको आधार प्रमाणित हो ।

कहिलेसम्म विद्यालय, घर, अफिस, लगायत कुनै पनि क्षेत्रमा म सुरक्षित छु भन्ने त्रास मनमा बोकेर कुदृष्टिको मनोविज्ञानको चुनौतीको अगाडी पितृसत्तात्मक सोचले गर्दा, महिला बालबालिकाको सुरक्षामा ध्यान नराख्दा, कडा कानुनको प्रावधानहरूको कमी वा कार्यान्वयनमा कमजोरी हुँदा यस्तो गम्भीर अपराधले ठाउँ पाइराखेको छ । यस्तो घटना घटाउने अपराधीलाई कठोर कानुनी कारबाहीको लागि सरकारसँग माग गर्छु ।

यस्तो जघन्य अपराध गर्ने शिक्षकलाई आजीवन जेल सजाय वा जरिवाना, आजीवन शिक्षण पेसाबाट प्रतिबन्ध लगाउनुपर्छ । पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिनका लागि सरकारले कडा कदम चालोस् ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend