logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

चन्द्रागिरी नगरपालिका र एन आई सी एशिया बैंकबीच सम्झौता


  • जन आकाश
  • बुधबार, असार २० २०८१

काठमाडौं । चन्द्रागिरी नगरपालिका भित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एन आई सी एशिया बैंकबीच सम्झौता सम्पन्न भएको छ ।



नगरपालिकाको उक्त कार्यक्रमको बैंकिङ्ग साझेदारको रुपमा एन आई सी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी नगरपालिका र बैंक बीच सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनिया र चन्द्रागिरी नगरपालिकाको तर्फबाट नगर प्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे ।

चन्द्रागिरी नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० श्रावण १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिनेछ ।
नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नुहुने महानुभावहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वीत हुन सक्नुहुनेछ र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको छ ।

चन्द्रागिरि नगरपालिकाले सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एन आई सी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुनुहुने ग्राहक महानुभावहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend