logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

क्यानडामा नेपाल फेस्टिभल २०२४ हुँदै


  • जन आकाश
  • शुक्रबार, असार २२ २०८१

काठमाडौं । क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ। लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा ब्राम्पटन सहरको केन व्हिलन्स स्क्वायरमा जुलाई ७ मा यो फेस्टिभल हुन लागेको हो।



शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानडाको मुख्य प्रायोजनमा हुने एक दिने फेस्टिभलमा नेपाली गीत–संगीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले बताए।

क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहरमा कार्यक्रम गर्न लागेका छौं। त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएका गतिविधि गर्नुपर्छ भन्ने लगेर एक दिने फेस्टिभलको आयोजना गर्दैछौं, उनले भने, यसले क्यानडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ। फेस्टिभलमा आइपुग्नेले नेपालमै पुगेको महसुस गर्नु हुनेछ भन्ने विश्वास छ।

भण्डारीले यसअघि पनि क्यानडामा नेपाली मेला,  महोत्सव, सांस्कृतिक र सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेका छन्। गायक प्रकाश सपूत, गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उनले गरेका कार्यक्रम हुन्।

प्रवेश निःशुल्क रहेको फेस्टिभलमा नेवार, गुरूङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै त्यहाँ रहेका कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिनेछन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend