logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

कर्णालीमा माओवादीका मन्त्रीहरूले राजीनामा दिंदै


  • जन आकाश
  • सोमबार, साउन ७ २०८१

सुर्खेत । नेकपा एमाले नेतृत्वको कर्णाली प्रदेश सरकारमा सहभागी माओवादी केन्द्रका मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन् ।



प्रदेश सरकारमा सहभागी माओवादीका चार मन्त्रीले आज बिहान ११ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेका हुन् । केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरणको सरकार बनेसँगै माओवादी कर्णाली सरकारबाट बाहिरिन लागेको संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले जानकारी दिए ।

‘केन्द्रमा नयाँ समीकरण बनेपछि प्रदेश पनि सोही अनुसार चल्नु पर्छ । हाम्रो पार्टीबाट सहभागी मन्त्रीहरूले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिनुहुन्छ,’ जिसीले भने । कर्णालीमा पहिलोपटक माओवादी प्रमुख प्रतिपक्षी दलको बेन्चमा बस्ने भएको छ । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा सहभागी हुँदै आएको माओवादी ६ वर्षदेखि सरकारमा छ ।

एमाले नेता यामलाल कँडेल नेतृत्वको प्रदेश सरकारमा माओवादीबाट आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाही सहभागी छन् । उनीहरूले आज पत्रकार सम्मेलन गरेलगत्तै मुख्यमन्त्री कँडेल समक्ष राजीनामा पत्र बुझाउनेछन् ।

मन्त्रीको राजीनामासँगै माओवादी संसदीय दलले कँडेल नेतृत्वको सरकारलाई दिएको समर्थन समेत फिर्ता लिनेछ । हाल काठमाडौंमा रहेका संसदीय दलका नेता राजकुमार शर्माले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र मेलमार्फत पठाउने बताइएको छ ।

माओवादीले सरकारबाट बाहिरिने तयारी गर्दा पनि एमाले र कांग्रेसबीच नयाँ सरकार गठनका विषयमा छलफल नै सुरु भएको छैन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend