जन आकाश
काठमाडौं । धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
अहिलेसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले निकालेका छन् । शनिबार साँझ झ्याप्ले खोलामा पहिरोले गाडी पुरिएको देखिएपछि उत्खनन् सुरु भएको थियो । सो क्रममा शनिबार राति १४ वटा शव सुरक्षाकर्मीले निकालेका थिए । जसमध्ये ८ पुरुष र ६ महिला थिए ।
लु १ ख ४५७८ नम्बरको विंगरबाट शनिबार १४ वटा शव निकालिएको थियो । उक्त विङगर गाडी बुटवलबाट काठमाडौंका लागि छुटेको थियो ।
नारायणघाटबाट काठमाडौं आउँदै गरेको ना २ ख १३४५ नम्बरको माइक्रोबसबाट १६ वटा शव निकालिएको थियो । ती मध्ये १२ जना पुरुष र ४ जना महिला छन् ।
त्यसैगरी गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको बसबाट ५ जना शव निकालिएको छ । जम्मा ३५ वटा शव निकालिएकोमा २५ पुरुष र १० महिला छन् ।
निकालिएको सबै शवहरु त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ । शुक्रबारदेखि आएको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १३२ पुगेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend