logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एकालापमाथि विशद मन्थन


  • जन आकाश
  • आइतबार, मंसिर ९ २०८१

जयराम बिडारी ।



काठमाडौं । साहित्यकार खेमराज पोखरेलको सातौँ लघुकथा कृति ,एकालापमाथि राजधानीमा विशद परिचर्चा सम्पन्न भएको छ ।

हिजो शनिबार लोमश वाङ्मय प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा चर्चित लघुकथाकार डा.शेखरकुमार श्रेष्ठले परिचर्चाको दैलो उघारे । आफ्नो मन्तव्यका क्रममा उनले पोखरेलको लघुकथा बनौटको शैलीबाट आफू काफी प्रभावित भएको बताउँदै उनका अधिकांश रचनामा अमेरिकी नेपाली, तिनले अख्तियार गरेको संस्कृति तथा त्यहाँको सिङ्गो नेपाली समाजको प्रतिविम्ब देखिने देखिने बताए ।

यी कथा पढ्दै जाँदा कतै नेपाली समाज त्यतै डोरिने त होइन भन्ने उनको संशय थियो । परिचर्चाकार विधान आचार्यले पोखरेलले कथामा प्रयुक्त काललाई ख्याल गर्न सुझाउँदै कथालाई सूक्तिमय बनाउन आग्रह गरे । त्यसरी नै अर्का टिप्पणीकार युवराज मैनालीले अमेरिकामा नेपालीको प्रस्ट मनोदशा देखिने उल्लेख गर्दै कुनै पनि रचना परिष्कार गर्ने ठाउँ सधैँ रही राख्ने बताए।

त्यसरी नै समीक्षक अशेष मल्लले खरो टिप्पणी गर्दै कथामा शिल्प र नाटकीयपन हुनुपर्ने राय राखे । नेपाली लघुकथा अक्षर गनेर छोटो बनाउन मात्र प्रयास गरेको तर खँदिलोपन नभएको गुनासो गर्दै पोखरेलमा भने यो समस्या नभएको उल्लेख गरे । तर सङ्ग्रहमा सङ्गृहीत केही कथा झिकिदिने हो भने सङ्ग्रह थप सुन्दर र उत्कृष्ट बन्ने दाबी गरे ।

समीक्षक ठाकुर शर्माले कृतिभित्र खुलापनको यौन दर्शन समेत भेटिने टिप्पणी गर्दै खुला समाजको वकालत कथासङ्ग्रहमा यत्रतत्र पाइने धारणा राखे ।

प्रा.डा.भरत भट्टराईले व्यङ्ग्यात्मक आँखाबाट हेर्दा पनि कथाहरू निकै उत्कृष्ट र सटीक भएको अभिमत राखे। उनले पोखरेलले थप उम्दा लघुकथा नेपाली साहित्य भण्डारलाई अर्पण गर्न सक्ने विश्वास व्यक्त गरे ।

प्रा.डा. कुमारप्रसाद कोइरालाले पोखरेलका कथामा विचार पक्ष निकै सबल भएको बखान गर्दै कथाहरू टिप्पणीभन्दा माथि रहेको खुलासा गरे ।

लघुकथाकार खेमराज पोखरेलले प्राप्त सुझावलाई यथाशक्य शिरोधार्य गर्ने वाचा गर्दै यो कार्यक्रमले नवोदित कथाकार अझ बढी लाभान्वित भएको तर्क गरे । लोमश वाङ्मय प्रतिष्ठानले छोटो समयमा सार्थक भेटघाटको मेलो जुटाइदिएकोमा प्रतिष्ठानको मुक्तकण्ठले प्रशंसा गरे ।

कार्यक्रममा शुभकामना मन्तव्य दिने अतिथिहरू कथाकार डा.दीनबन्धु शर्मा, लघुकथाकार सुमन सौरभ तथा नियात्राकार रामप्रसाद पन्तले थप कृति हतारोमा प्रकाशन नगर्न सुझाउँदै पोखरेललाई यस्तै सार्थक कृति ल्याउन आग्रह गरे ।

लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे अटलले सहजीकरण गरेको उक्त परिचर्चा कार्यक्रमको अध्यक्षता नेपाल स्रष्टा समाजका अध्यक्ष एवम् मूर्धन्य साहित्यकार श्रीओम श्रेष्ठ “रोदन” ले गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend