logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

स्थानीय तहको उपनिर्वाचन कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस बाट झलक बहादुर भण्डारी


  • जन आकाश
  • शुक्रबार, मंसिर १४ २०८१

बिनोद नेपाली



काठमाडौं । कर्णाली प्रदेश अन्तर्गत स्थानीय तहका रिक्त ८ वटा पदमा हुने उपनिर्वाचनमध्ये दैलेखको महावु गाउँपालिकाको अध्यक्ष पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । महावुमा पालिका अध्यक्ष पदकै लागि उपनिर्वाचन हुने भएकाले दलहरूले यसलाई प्रतिष्ठाको विषय बनाएका हुन् ।

विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बाहुल्यता रहेको महावुमा ७ जनाको उम्मेदवारी परेको छ ।

यहाँ कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादीबाट जंगबहादुर बराल मगर, एमालेबाट जंगबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट प्रकाशकुमार बुढा, नेकपा एकीकृत समाजवादीका तर्फबाट जगत बहादुर हमालको उम्मेदवारी दर्ता भएको छ । यस्तै राप्रपाले सुर्जे रावत र नेमकिपाले दुर्गबहादुर मगरलाई उम्मेदवार बनाएको छ ।

उम्मेदवारहरू यतिबेला घरदैलो अभियानमा व्यस्त छन् । सबैजसोले सुशासन, विकास र समृद्धि शब्दलाई नै एजेण्डा बनाएका छन्

नेपाली कांग्रेसका उम्मेदवार झलक बहादुर भण्डारी सँगको छोटो कुराकानी

१) घरदैलो कार्यक्रममा जाँदा जनताको आवश्यकता के पाउनुभयो

अहिलेसम्म तीन वटा वडामा घरदैलो कार्यक्रम गरेँ । त्यस क्रममा जनताको भनाइ छ– नेताहरू चुनावका बेलामात्रै गाउँमा आउँछन्
मैले भन्ने गरेको छु– म एउटा युवा मान्छे हुँ, केही काम गर्न सक्छु । उहाँहरूले युवालाई सपोर्ट गर्छौं भन्नुभएको छ । जनप्रतिनिधिहरू चुनाव जितेपछि गाउँ नफर्किने हुँदा आक्रोश बढेको पाइयो । यद्यपि अहिले मप्रति सकरात्मक प्रतिक्रिया पाएको छु ।

२) तपाईं कुन दललाई आफ्नो प्रतिस्पर्धी मान्नु हुन्छ

अहिले यहाँ समाजवादीको उम्मेदवारले एमालेलाई सहयोग गरेजस्तो छ, उहाँले भोट नै नमागेको अवस्था छ । त्यसैले एमाले नै कांग्रेसको प्रमुख प्रतिस्पर्धी हो ।

३) अनि रास्वपाको पनि युवा उम्मेदवार हुनुहुन्छ नि

युवा, देशविदेशमा भएका साथीहरूलाई रास्वपाप्रति चासो देखाइरहनु भएको छ । तर स्थानीय लेवलमा संगठन नभएका कारण खासै प्रभाव छैन । बरु माओवादी तेस्रोमा आउँछ, रास्वपा चौथो हो ।

४) उसो भने चुनाव जित्नुहुन्छ

म त चुनाव जित्ने नै भनेर आएको हो नि, त्यही विश्वासका साथ मैदानमा छु ।

५) चुनाव जित्ने आधार के हो

पहिलो कुरा म युवा हो । अर्को, म फरक तरिकाले जनतामाझ प्रस्तुत भएको छु । म आफैँ पनि ग्रामीण विकास पढेको मान्छे हो, यहाँको सामाजिक अवस्था अध्ययन गरेको छु, समाज बुझेको छु । म खाली कागज हुँ, कतै खोट छैन । अर्को, महावु बनाउने प्रस्ट धारणा मसँग छ ।

६) उसो भने कति मत ल्याएर जित्नुहुन्छ त

अहिले नै ठ्याक्कै यति नै त भन्न नसकिएला तर, ३ देखि ४ सय मतान्तरले चुनाव जित्छु । अहिले यहाँका धेरेजसो मान्छे बाहिर छन्, मत कमै खस्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend