logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

सन्तान वृद्धि गर्ने दम्पतिलाइ मन्थलीले पुरुस्कृत गर्ने


  • जन आकाश
  • सोमबार, असार ९ २०८२

रामेछाप । मन्थली  नगरपालिकाले  सन्तान वृद्धि गर्ने दम्पतिलाइ पुरुस्कृत गर्ने भएको छ। आज १७ नगर सभा तथा नीति  कार्यक्रम मार्फत यस्तो योजना अगाडी सारेको हो।



मन्थली नगरपालिकाले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, शिक्षा, उद्योग, पर्यटनलाई प्राथमिकतामा राखेको छ । उद्योग प्रवर्धनका लागि महिला तथा अपाङ्गता भ्याएकाको नाममा दर्ता भएका व्यवसायलाई ताकिएको व्यवसाय करमा १० प्रतिशत छुट दिने नगरपालिकाले कार्यक्रम उल्लेख  छ ।

नगरप्रमुख लब श्रेष्ठले पेस गर्नुभएको नीति तथा कार्यक्रममा न्यून पुँजी भएका व्यवसायीलाई दोहोरो करको मारबाट छुट गराउन ५ लाख रुपैँयासम्म पुँजी कायम गरी उद्योग दर्ता गरेका व्यवसायीको उद्योग नवीकरण नगरपालिकाबाटै गरिने व्यवस्था मिलाइएको उल्लेख छ ।

मन्थली नगर अस्पताललाई अझ सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गरिएको उल्लेख छ ।

गुणस्तरीय शिक्षाका लागि विज्ञान विषय लिएर ११ र १२ पढ्ने प्रत्येक वडाका एक जना विद्यार्थीलाई निःशुल्क अध्ययन गराउन मन्थली माविलाई दिँदै आएको छात्रवृत्ति अनुदानलाई कायम गरिएको छ । त्यस्तै कृषि र पशुविज्ञान अध्ययन गर्ने १४ वटै वडाका एक एक जना विद्यार्थीलाई रामेछाप पोलिटेक्निकमा छात्रवृत्ति अध्ययनको व्यवस्था मिलाइएको  उल्लेख छ ।

पूर्वाधार तर्फ वडाबाट प्रस्ताव भएको १५ लाख माथिको एउटा ठुला आयोजनामा नगरबाट १५ लाख रुपैँया थप गरी वडाको गौरवको योजना सञ्चालन गरिने भएको छ । पाँच वर्षमा सञ्चालन गरिने आयोजनाको आयोजना बैङ्क तयार गरी कार्यान्वयनमा लगिने उल्लेख छ ।

कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरिएको उल्लेख छ । पुशपन्छिमा लगानी, मन्थली नगरपालिकाको सुनौलो बिहानी भन्ने नारा सहित पशुपालन तथा दूध बिक्रीमा प्रोत्साहनको कार्यक्रम ल्याइएको उल्लेख  छ ।

मन्थली नगरमा पर्यटन प्रवर्धनको लागि स्थानीय पर्यटन विकासका कार्यक्रमहरू ल्याइएको छ।

नगरपालिकाले आउने आर्थिक वर्षको लागि कूल १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैँयाको बजेट ल्याएको छ ।

सोमबार नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटमा चालु तर्फ ६८.७५ प्रतिशत र पुँजीगत तर्फ ३१.२५ प्रतिशत बजेट विनियोजन गरिएको उल्लेख छ । कूल बजेट मध्ये सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा २ प्रतिशत, कार्यालय सञ्चालनमा १४.५ प्रतिशत, आर्थिक विकासमा ४ प्रतिशत, सामाजिक विकासमा ४८.५ प्रतिशत र पूर्वाधार विकासमा ३१ प्रतिशत बजेट खर्च हुने भएको छ ।

यस आर्थिक वर्षमा अनुमानित बजेटको ६७.९४ प्रतिशत खर्च भएको छ । वास्तविक निकासा आम्दानी भएको बजेटको भने ७८.३७ प्रतिशत बजेट खर्च भएको छ । यस आर्थिक वर्षमा कुल १ अर्ब करोड ९७ लाख ८१ हजार रुपैँया  अनुमान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend