जन आकाश
काठमाडौं । नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्लो समय उठेका विभिन्न सवाल तथा टिप्पणीबारे अध्ययन गर्न समिति गठन गरेको छ ।
सोमबार बसेको बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय गरेको हो । बारका महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले समितिको गठनबारे जानकारी दिएका हुन् ।
गठित समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षहरू उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन् । त्यस्तै, बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
महासचिव कोइरालाका अनुसार समितिलाई न्यायालयका विषयमा पछिल्लो समय उठेका टिप्पणीहरूको तथ्य संकलन गर्ने तथा समग्र न्याय क्षेत्रको सुधार र उन्नयनका लागि आवश्यक सुझाव तयार गर्ने जिम्मेवारी दिइएको छ । समितिले एक महिनाभित्र आफ्नो अध्ययन प्रतिवेदन तयार गर्ने समयसीमा तोकिएको छ ।
पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका इनम सापकोटाले न्यायाधीशहरूसँग भेटघाट गरेको विषयले न्यायक्षेत्रमा चर्चा र प्रश्नहरू उठिरहेका छन् ।
मुद्दा मामिलाका विषयमा न्यायाधीश हरिप्रसाद फुयालसँग कुराकानी भएको च्याट सार्वजनिक भएपछि यो विषय थप चर्चामा आएको हो । त्यसपछि होटल हिमालयमा न्यायाधीश फुयालसहित अन्य व्यक्तिहरूको भेटघाट भएको विषयसमेत सार्वजनिक भएको थियो । न्यायाधीश फुयालले भने भेटघाट र कुराकानी भएको स्वीकार गरेका छन् ।
यद्यपि, इनम सापकोटासम्बन्धी विषयमा न्यायाधीश फुयालसहित केही व्यक्तिले नै सरकारलाई जानकारी गराएपछि उनी पक्राउ परेको दाबीसमेत गरिएको छ ।
यसैबीच, सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले पनि सम्बन्धित निकायलाई घटनाबारे छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ ।
न्यायालयको निष्पक्षता, पारदर्शिता र विश्वसनीयतामाथि उठेका प्रश्नको अध्ययन गरी आवश्यक सुझाव प्रस्तुत गर्ने उद्देश्यले नेपाल बारले समिति गठन गरेको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend