logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

फिनटेक नवप्रवर्तनका लागि सरकार, बैंक र प्रविधि कम्पनीबीच सहकार्य आवश्यक : गभर्नर पौडेल


  • जन आकाश
  • मंगलबार, कार्तिक १८ २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले वित्तीय प्रविधि (फिनटेक) नवप्रवर्तनको विकास र विस्तारका लागि सरकार, बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।



वित्तीय प्रविधिको तीव्र विकाससँगै वित्तीय सेवा प्रवाहको परम्परागत शैली परिवर्तन भइरहेको उल्लेख गर्दै उनले त्यसअनुसार नियामकीय तथा सुपरिवेक्षकीय व्यवस्था पनि थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।

सोमबार नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले फिनटेक नवप्रवर्तनलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले अनुकूल वातावरण निर्माण गर्दै आएको जानकारी दिए । उनका अनुसार नवप्रवर्तक, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, विप्रेषण कम्पनी, प्रविधि कम्पनी र नियामक निकायबीच निरन्तर संवाद तथा सहकार्य आवश्यक छ ।

राष्ट्र बैंकले फिनटेक विकासका लागि डिजिटल फाइनान्स इनोभेसन हब स्थापना, रेगुलेटरी स्यान्डबक्स कार्यान्वयन तथा आगामी पाँच वर्षको फिनटेक रणनीति तयार गरी कार्यान्वयन प्रक्रिया अघि बढाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागअन्तर्गत डिजिटल फाइनान्स इनोभेसन हब स्थापना गरिएको हो । त्यस्तै, ‘फिनटेक स्ट्राटेजी फर डिजिटल फाइनान्सियल सर्भिसेज २०२६/२७ टु २०३०/३१’ तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ ।

यी पहलले बैंकिङ तथा वित्तीय क्षेत्रमा नयाँ प्रविधिको प्रयोग, नवीन वित्तीय सेवा र व्यावसायिक मोडेलको विकासमा सहयोग पुग्ने गभर्नर पौडेलको विश्वास छ । यसले वित्तीय सेवा प्रदायक र प्रविधिमा आधारित नवप्रवर्तकबीचको सहकार्यसमेत बढाउने उनले बताए ।

उनका अनुसार कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म, क्लाउड कम्प्युटिङ र डेटा एनालिटिक्सजस्ता प्रविधिको प्रयोगले वित्तीय सेवाको पहुँच, गुणस्तर, लागत र प्रभावकारितामा परिवर्तन ल्याउनेछ । यस्ता प्रविधिले वित्तीय समावेशिता बढाउनुका साथै आर्थिक विकासमा समेत योगदान पुर्‍याउने उनको भनाइ छ ।

नेपालमा डिजिटल वित्तीय सेवाको विकास विद्युतीय कार्ड, एटीएम र एसएमएस बैंकिङबाट सुरु भएको थियो । अहिले मोबाइल बैंकिङ, डिजिटल वालेट, क्यूआर कोड तथा अन्य नवीन भुक्तानी प्रणालीसम्म विस्तार भएको छ ।

राष्ट्र बैंकले लामो समयदेखि वित्तीय क्षेत्रमा विद्युतीय प्रविधिको प्रयोग र डिजिटल वित्तीय सेवाको विकासलाई प्रोत्साहन गर्दै आएको छ । पछिल्लो समय भुक्तानी प्रणालीमा मात्र सीमित नभई समग्र वित्तीय सेवाको रूपान्तरणमा सहयोग पुर्‍याउने फिनटेक नवप्रवर्तनलाई समेत प्राथमिकता दिएको गभर्नर पौडेलले बताए ।

फिनटेक नवप्रवर्तनको विकास र प्रवर्द्धनमा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा निकायको भूमिका पनि महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले राष्ट्र बैंक र सरकारबीच निरन्तर समन्वय हुनुपर्नेमा जोड दिए ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा वित्तीय सेवाको विकास तथा विस्तार, फिनटेक नवप्रवर्तन र संस्थागत क्षमता अभिवृद्धिका क्षेत्रमा काम गर्दै आएको पनि उनले जानकारी दिए । आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारी थप विस्तार गर्ने सम्भावना रहेको उनको भनाइ छ ।

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले नयाँ प्रविधि र नवप्रवर्तकलाई नियमनकारी मार्गदर्शन प्रदान गर्न तथा लगानी गर्नुअघि नै कानुनी स्पष्टता दिन डिजिटल फाइनान्स इनोभेसन हब सञ्चालनमा ल्याइएको बताए ।

उनले प्रविधिको प्रयोग विस्तार गर्न राष्ट्र बैंकले फिनटेक रणनीति र रेगुलेटरी स्यान्डबक्स सञ्चालनको तयारी गरिरहेको जानकारी दिए ।

डेपुटी गभर्नर पण्डितका अनुसार आगामी दिनमा डिजिटल ऋण प्रवाह, ओपन बैंकिङ र ग्रिन फाइनान्स राष्ट्र बैंकका मुख्य प्राथमिकतामा रहनेछन् । कृत्रिम बौद्धिकताको प्रयोगमार्फत ग्राहकलाई सहज रूपमा वित्तीय सेवामा आबद्ध गराउने तथा डिजिटल ठगी नियन्त्रणका लागि रेगटेक र अनुगमन प्रविधिलाई थप सुदृढ बनाइने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend