logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

बुटवलको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता


  • जन आकाश
  • मंगलबार, असार १० २०८२

काठमाडौं– ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको छ ।



सोमबार नगरसभाको १७ औं अधिवेशनको तेस्रो बैठकमा उपमेयर सावित्रादेवी अर्यालले कुल बजेटमा चालूतर्फ ४९ प्रतिशत र पुँजीगततर्फ ५१ प्रतिशत रहने बताइन् । बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई प्राथमिकता दिइएको छ ।

आगामी आर्थिक वर्षमा ९५ करोड आन्तरिक आय हुने अनुमान पेस गरेकी छन् ।

बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड, पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक सहर बनाउन १ करोड १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

विद्यालयहरुको सुधार र न्यूनतम मापदण्ड पूरा गर्न ६ करोड, कृषि सुधारमा एक करोड, छात्राहरुलाई निःशुल्क अध्ययनका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि एक करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्न ७० लाख बजेट विनियोजन भएको छ ।

यस्तै ज्येष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा पु¥याउने कार्यक्रमका लागि ९० लाख, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट विनियोजन भएको छ ।

झुम्सा खानेपानी बुटवलमा ल्याउन पाल्पाको तिनाउ गाउँपालिकाको मुहान क्षेत्रको विकासका लागि दुई करोड, गृहिणी महिलाहरुलाई रोजगारसँग जोड्ने कार्यक्रमका लागि तीन करोड, उद्यमी महिलाहरुका लागि ७० लाख, दलित समुदायका परम्परागत पेशालाई सीप विकास केन्द्रका रुपमा सञ्चालन गर्न ८५ लाख, बुटवल क्षेत्रको मुख्य सडक र भित्री सडकहरुलाई हरियाली बनाउँदै सौन्दर्यीकरण गर्न तीन करोड, जितगढी किल्ला नजिकै आरती केन्द्र निर्माणका लागि पाँच करोड र गौशाला व्यवस्थापनका लागि १ करोड बजेट विनियोजन भएको उपमेयर अर्यालले बताइन् ।

किसानहरुका समूहलाई उपकरण खरिदमा अनुदान दिन एक करोड, दुग्ध उत्पादक किसानहरुलाई प्रोत्साहनस्वरुप अनुदान दिन ५० लाख, कालिकापथ, अमरपथ र ट्राफिक चोकमा रात्रीकालीन बजार सञ्चालनका लागि ५० लाख विनियोजन भएको छ ।

यस्तै अव्यवस्थित बसोबास र सुकुमबासी क्षेत्रको नापजाँचको व्यवस्थापनका लागि एक करोड ५० लाख, पुनः नापी गर्न २ करोड रुपैयाँ विनियोजन भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend