logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

रामेछापका ८ वटै स्थानिय तहहरुको नीति कार्यक्रम सवैभन्दा बढी बजेट मन्थलीको


  • जन आकाश
  • शनिबार, असार १४ २०८२

रामेछाप । असार १० गतेभित्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार रामेछापका ८ वटै स्थानिय तहहरुले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन । जिल्लाका २ नगरपालिका र ६ वटै गाउँपालिकाले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन ।



जिल्लाको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले नगर सभाको १७ औँ अधिवेशनमा नगरपालिका प्रमुख लव श्रेष्ठले प्रस्तुत गरेका थिए । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।

तेस्रो सन्तान जन्माउने अभिभावकलाई लक्षित गर्दै “सन्तति प्रोत्साहन कार्यक्रम“ ल्याउने, करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउने, र दीर्घरोगी बिरामीलाई घरमै औषधि पु¥याउने व्यवस्था नगरको मुख्य योजना बनेका छन्। शिक्षा क्षेत्रमा कक्षा ११ र १२ मा विज्ञान विषय अध्ययन गर्ने प्रत्येक वडाका एक जना विद्यार्थीलाई छात्रवृत्ति मार्फत निःशुल्क अध्ययनको व्यवस्था कायम राखिएको छ।

यस्तै, कृषि तथा पशु विज्ञान अध्ययनका लागि १४ वटै वडाबाट एक–एक जनालाई रामेछाप पोलिटेक्निकमा छात्रवृत्ति दिने योजना पनि अगाडि सारिएको छ। साना तथा महिला–अपाङ्गता भएकाको नाममा दर्ता व्यवसायलाई व्यवसाय करमा १० प्रतिशत छुट दिइने, ५ लाख रुपैयाँसम्मको पुँजी भएका व्यवसायको उद्योग नवीकरण नगरपालिकाबाटै गरिने व्यवस्था गरिने उल्लेख गरिएको छ।

दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र ६० वर्ष माथिका दलित परिवारका लागि स्वास्थ्य बीमाको पहिलो वर्षको शुल्कमा ५० प्रतिशत अनुदान दिइने भएको छ। मन्थली नगरले आगामी आर्थिक वर्षका लागि १ अर्ब ४ करोड ६५ लाख ६४ हजार २०२ रुपैयाँको बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपप्रमुख ईश्वरी बस्नेतले प्रस्तुत गरेको बजेटतर्फवाट चालु खर्चमा ६८.७५ प्रतिशत र पुँजीगत खर्चमा ३१.२५ प्रतिशत विनियोजन गरिएको छ ।

जिल्लाको रामेछाप नगरपालिकाको १७ औँ अधिवेसनमा नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा सामाजिक विकास समिति अन्तर्गत शिक्षा युवा तथा खेलकुद, स्वास्थ्य, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, आर्थिक विकास समिति अन्तरर्गत पशुपक्षी तथा मत्स्य विकास,कृषि विकास, राजश्व उद्योग तथा सहकारी, पूर्वाधार विकास, वन वातावरण र विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास सम्बन्धी कुराहरुलाई प्राथमिकता दिइएको छ ।

रामेछाप नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८० करोड ४४ लाख ५६ हजार १ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख बालकुमारी कार्कीले नगरसभामा पुँजीगत खर्चतर्फ २९ करोड ७६ लाख ६२ हजार १ सय १० रुपैयाँ र चालु खर्चतर्फ ५० करोड ६७ लाख ९४ हजार २० रुपैयाँ विनियोजन गरिएको उल्लेख छ ।

जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको १५ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष केशव महतले नीति कार्यक्रम प्रस्तुत गरेका छन्। अध्यक्ष महतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्गा,गिट्टी,वालुवा,स्लेट, ढुङगा, खरी लगाएत खनिज जन्य बस्तुको निकासिलार्ई करको दायरामा ल्याईने उल्लखे गरिएको छ ।

गाउँपालिकाको लगानीमा निर्माण भएका पुर्वाधार तथा सडकहरुमा सेवा शुुल्क लगाई आय सङ्कलन गरिने,एक वडा एक उत्पादन कार्यक्रम मार्फत कृषकहरुलाई आत्मनिर्भर र व्यवसायिक बनाउने कार्यक्रमहरु प्राथमिकताका साथ छनौंट गरिनुका साथै उत्पादनमा आधारित अनुदानका कार्यक्रहरु यसै आ.व.देखि कार्यान्वयन गरिने बताइएको छ । बाँझो रहेका कृषियोग्य जमिनमा खेती लगाउन चाहने किसानलाई गाउँपालिकाले जग्गा धनिसंग सहकार्य गरी कृषि गर्नका लागि उपलब्ध गराईने,बाँझो जग्गा उपलब्ध गराउने कार्यमा गाउँपालिकाबाट मापदण्ड बनाई साझेदारी गरिने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

टिमुर,आँप, कटहर, किवी, सुन्तला, कागती, कफी, जुनार,अमला, अम्रिसो, एभोगाडो उत्पादनलाई प्रोत्साहान गरिने,सुख्खाग्रस्त भु –भागलाई सिंचाई प्रणालीसंग जोड्दै, जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि थोपा सिंचाई र लिफ्टिङ सिचाँइलाई प्राथमिकता दिईने,कृत्रिम गर्भाधानको माध्यमबाट दुध, मासु उत्पादनमा बृद्धि गरिने,गाउँपालिकालाई दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन प्राथमिकताका साथ आवश्यक अनुसार कार्यक्रम सञ्चालन गरिने पालिकाले नीति लिएको छ । गाउँपालिकाले आगामि आर्थिक बर्ष २०८२/०८३ का लागि अनुमानित बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष दिपा पाख्रिनले आगामी आर्थिक बर्षका लागि कुल ६८ करोड २५ लाख ८६ हजारको अनुमानित बार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।

जिल्लाको गोकुलगंगा गाउँपालिकाले १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्काले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तय गरेको छ अध्यक्ष खड्काले गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड बराबरको बजेट ल्याएको छ । उपाध्यक्ष उषा देवी कार्कीले ५६ करोड ९८ लाख ९४ हजार बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

जिल्लाको खाँडादेवी गाउँपालिकाले आगामी आवका लागि ६५ करोड ८४ लाख ८१ हजार १९५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १७ औँ अधिवेशनमार्फत बजेट र नीति–कार्यक्रम प्रस्तुत गरिएको हो।गाउँपालिकाकी उपाध्यक्ष रमा घिसिङले बजेट प्रस्तुत गरेकी थिइन । अध्यक्ष ज्ञानकुमार श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । कार्यक्रममा पूर्वाधार विकास, सामाजिक सेवा सुदृढीकरण, कृषि उत्पादनमा वृद्धि, शिक्षा र स्वास्थ्यमा लगानी, तथा स्थानीय रोजगारी सिर्जना प्राथमिकतामा राखिएको उल्लेख छ।

जिल्लाको उमाकुण्ड गाउँपालिकाले आगामी आवका लागि महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । १८औँ गाउँसभामा गाउँपालिकाले ११८ बुँदामा आधारित नीति तथा कार्यक्रमसहित ६१ करोड १३ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको हो। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले प्रस्तुत गरेको वजेट कार्यक्रममा शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, सामाजिक विकास, खेलकुदजस्ता बहुआयामिक क्षेत्रलाई प्राथमिकता दिइएको छ। आगामी वर्षका लागि छुट्टाइएको कूल बजेट ६१ करोड १३ लाख २३ हजार ४२६ रुपैयाँ रहेको उपाध्यक्ष सावित्री सुनुवारले पढेर सुनाएकी थिइन।

जिल्लाको सुनापति गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ५६ करोड ५० लाख ३९ हजारको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटमा चालु तर्फ करिव ६० प्रतिशत र पूँजिगत तर्फ करिव ४० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ । गाउँसभाको १८ औं अधिवेशनमा उपाध्यक्ष गीता विष्टले उक्त बजेट सार्वजनिक गरेकी हुन् । बजेटमा पूर्वाधार, स्वास्थ्य शिक्षा र सामाजिक विकास र रोजगारीलाई प्राथमिकता दिइएको छ ।

जिल्लाको दोरम्बा शैलुङ गाउँपालिकाले आगामी आवका लागी ५५ करोड ७१ लाख ८० हजार ५०१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १७औं गाउँसभा तथा बजेट घोषणा कार्यक्रममा पालिकाका उपाध्यक्ष खमला थापा मगरले बजेट प्रस्तुत गरेकी हुन्। पालिकाले नीति कार्यक्रम र बजेटमा शिक्षा, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना र आन्तरिक आम्दानी वृद्धि जस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ । ग्रामीण अर्थतन्त्र सुदृढ गर्ने लक्ष्य लिएको गाउँपालिकाले पर्यटन क्षेत्रको पहिचान, प्रचारप्रसार र प्रवद्र्धनमा जोड दिएको उल्ल्ेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend