logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्र एकजुट, साझा प्रतिवद्धता सार्वजनिक


  • जन आकाश
  • मंगलबार, असोज ७ २०८२

काठमाडौं । अर्थतन्त्र सुधार र मुलुकको समृद्धिका लागि निजी क्षेत्रका व्यवसायीहरुले एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, राष्ट्रिय व्यवसायी पहल, निर्यात



व्यवसायी महासंघ र नेपाल युवा उद्यमी मञ्चलगायतका व्यवसायीक छाता संगठनका पदाधिकारीहरुको सोमबार राजधानीमा सम्पन्न संयुक्त छलफलमा व्यवसायीले साझा प्रतिवद्धता जनाएका हुन् ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारी सदस्य तथा स्थल यातायात तथा पारवाहन समितिका सभापति शिव प्रसाद घिमिरेको पहलमा आयोजित कार्यक्रममा हालैको जेन(जी आन्दोलनले सिर्जना गरेको परिस्थिति, व्यवसायमा देखिएका समस्या र त्यसका समाधानबारे विस्तृत छलफल भएको थियो ।

कार्यक्रममा बोल्ने व्यवसायीहरुले पछिल्ला आन्दोलनका कारण उद्योग र व्यापारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै सरकारको विशेष पहलमा नाका केही दिनमै खुलेको उदाहरण प्रस्तुत गरे । उनीहरुले राज्यले दृढतापूर्वक काम गरेमा व्यवसायसँग सम्बन्धित समस्या सजिलै समाधान हुने धारणा राखे ।

छलफलमा सहभागी व्यवसायीहरुले आगामी यात्रामा निजी क्षेत्र एकताबद्ध भएर अघि बढ्ने, व्यवसायिक नीतिनिर्माणमा युवा पुस्ताको सक्रियता सुनिश्चित गर्ने, पुनर्निर्माणमा सक्दो सहयोग गर्ने र बौद्धिक तथा सक्षम युवालाई प्रोत्साहन गर्ने विषयमा सहमति जनाए ।

व्यवसायीहरुले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि भएका आक्रमणले सुरक्षामा प्रश्न उठेको र यसले बेरोजगारी बढाउने चेतावनी पनि दिए । उनीहरुले निजी क्षेत्रको अर्थतन्त्रमा रहेको योगदानलाई अझ प्रगाढ बनाउन निर्यात प्रवर्द्धन, पर्यटन संरक्षण र अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई सुरक्षित गन्तव्यको रूपमा चिनाउने आवश्यकता औंल्याए।

कार्यक्रममा हालको परिस्थितिबारे अनुभव र चुनौती प्रस्तुत गर्दै व्यवसायीहरु सँगै विभिन्न वस्तुगत संघका सदस्यहरुको पनि समस्याका सम्भावित समाधान र राज्यले गर्न सक्ने कदमबारे सुझाव राखेका थिए । छलफलको विस्तृत प्रतिवेदन तयार गरी छिट्टै सरकार र सम्बन्धित निकायलाई बुझाइने निर्णय गरिएको छ ।

व्यवसायीहरुको भनाइमा, अहिलेको संवेदनशील परिस्थितिमा सरकारलाई मार्गदर्शन दिने र निजी क्षेत्रको सुरक्षा सुनिश्चित गर्ने काममा व्यवसायी, उद्यमी र सरोकारवालाको सहकार्य अपरिहार्य रहेको छ ।

कार्यक्रममा सबै व्यवसायिक सस्थाका पदाधिकारीसहित ३ सय भन्दा बढी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend