जन आकाश
काठमाडौं । प्रेस युनियन चितवनका अध्यक्ष तथा नेपाल टेलिभिजन र अन्नपूर्णपोष्ट दैनिकका पत्रकार अनिल ढकाल मुग्लिङ सडक खण्डको रिपोर्टिङका क्रममा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका छन् ।
मंगलबार साँझ मुग्लिन–नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै ठुलो पहिरो खस्दा सडक अवरुद्ध भएको अवस्थाको रिपोर्टिङका लागि पुगेका ढकाल दुर्घटनामा परेका हुन् । दुर्घटनामा घाइते भएका ढकालको टाउको र हातमा गम्भीर चोट लागेको छ ।
हाल उनी चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखी उपचार भइरहेको बागमती प्रदेश पत्रकार महासङ्घका अध्यक्ष कृष्ण सारु मगरले जानकारी दिएका छन् ।
सोही दुर्घटनामा पत्रकार सुदन पौडेल पनि घाइते भएका छन् । पौडेललाई सामान्य चोट लागेका कारण स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । घाइते ढकाललाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भए पनि राति सेनाको हेलिकप्टरमार्फत सम्भव नभएकाले चितवनमै उपचार भइरहेको बताइएको छ ।
यसअघि झरेको पहिरोका कारण मुग्लिन(नारायणघाट सडकखण्ड दुवै तर्फको आवतजावत बन्द भएको छ । निरन्तर पहिरो खसिरहेकोले पन्छाउने कार्यमा कठिनाइ भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend