जन आकाश
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंकक पुग्नुभएको छ।
मन्त्री श्रेष्ठ मंगलबार बेलुका बैंकक पुग्नुभएको हो। उहाँलाई बैंककस्थित नेपाली राजदूत धनबहादुर वलीले स्वागत गर्नुभएको थियो।संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन–इस्क्याप) द्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
यसैगरी, नेपाल र यूएन–इस्क्यापले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म : एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई मन्त्री श्रेष्ठले बिहीबार सम्बोधन गर्नुहुनेछ।
बिहीबार नै एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) ले नेपालमा उत्थानशील पुनर्लाभ तथा पुनरोत्थानमा केन्द्रित भएर आयोजना गरेको ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक गोष्ठिमा पनि उहाँ सहभागी हुनुहुनेछ। गोष्ठिअन्तर्गत ‘नेपालको पुनरोत्थानका आवश्यकता तथा चुनौतीहरू’ विषयक सत्रलाई मन्त्री श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।
मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनका अनुसार सम्मेलनका क्रममा उहाँले विभिन्न देशका मन्त्रीहरूसँग साइडलाइन वार्ता गर्नुहुनेछ। सो अवसरमा विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग तथा जलवायु क्षतिपूर्तिका विषय उठाइने महर्जनले जानकारी दिनुभयो।
भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्म उप्रेती, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका बोर्ड सदस्य अंकिता शाह सहभागी हुनुहुन्छ। मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend