जन आकाश
काठमाडौं । नेपालमा वस्तु आयात र निर्यात दुवै बढेका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँको वस्तु आयात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढी हो।
भन्सार तथ्यांकअनुसार असोजमा मात्रै २ खर्ब ४६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। गत चैतदेखि हरेक महिना २ खर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएको छ। मूल्यवृद्धि र पेट्रोलियम पदार्थको बढ्दो खपतले पनि आयात रकम बढाएको छ।
यस अवधिमा निर्यात भने ५७.०३ प्रतिशतले बढेर १ खर्ब १४ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। तर, आयातको तुलनामा निर्यात निकै कम हुँदा व्यापार घाटा ३४.७१ प्रतिशतले बढेर ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।
पहिलो तीन महिनामा नेपालको कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेर ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। कुल व्यापारमा निर्यातको हिस्सा बढेर १५.०२ प्रतिशत पुगे पनि आयातको हिस्सा अझै ८४.९८ प्रतिशत रहेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend