जन आकाश
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९० औँ वार्षिकोत्सवको अवसरमा विशेष सुविधासहितको ‘नेबैंलि सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ। बैंकले ९० दिनका लागि न्यून ब्याजदर तथा सेवा शुल्कमा उक्त योजना ल्याएको हो।
योजनाअन्तर्गत ग्राहकले घर खरिद, घर निर्माण तथा मर्मतका साथै अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन्। आधार दरमा शून्य दशमलव पाँच प्रतिशत प्रिमियम ब्याजदरबाट सुरु हुने यस कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ। कर्जामा ०.२५ प्रतिशत मात्र सेवा शुल्क लाग्ने बैंकले जनाएको छ।
यस योजनाअन्तर्गत कर्जा लिने ग्राहकले बैंकबाट पाँच लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सुविधा पाउनेछन्। साथै, लकर सुविधाको वार्षिक शुल्कमा ५० प्रतिशत छुटसमेत उपलब्ध हुनेछ।
बैंकका अनुसार यो कर्जा योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म ९० दिनका लागि सञ्चालन हुनेछ। नेपाल बैंक लिमिटेड कात्तिक ३० गते सोमबार आफ्नो ८९औँ वर्षमा प्रवेश गर्दैछ।
नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभर २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
बैंकले ग्राहक सेवामा सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा विस्तार गरिरहेको जनाएको छ। छिटोछरितो तथा गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले उल्लेख गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend