जन आकाश
काठमाडौं । जेनजी अभियानी सुदन गुरूङले जेनजी पुस्ताले नयाँ पार्टी खोलेर निर्वाचनमा भाग लिने बताएका छन्। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन तोकेको छ।
उक्त निर्वाचनमा नयाँ पार्टीले भाग लिने गुरूङले बताए। पार्टीको नाम के रहने चाहिँ उनले बताएनन्। नयाँ पार्टी खोलेर जेनजी पुस्ताले निर्वाचनमा भाग लिन्छ भन्ने प्राइम टिभीका पत्रकार ऋषि धमलाको प्रश्नमा सुदनले भनेका छन्, ‘लिन्छ, देखाउनुपर्छ हामीले कस्तो हिसाबमा नयाँ नेपाल बनाउन सक्छ र हामी सक्षम छ भनेर देखाउन सक्छौं।’
काठमाडौं महानगरका मेयर बालेन शाहलाई आफूले अहिलेसम्म भेट नगरेको पनि गुरूङले बताए। बालेनले स्वतन्त्र रूपमा लड्न र जित्न सकिन्छ भनेर आशा जगाएको भए पनि व्यक्तिगत रूपमा बालेनसँग आफ्नो चिनजान नरहेको उनले बताए।
‘राम्रो काम गर्नेलाई हरेक नेपालीले समर्थन गर्नैपर्यो,’ उनले भने। बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङलाई समेट्ने प्रयास भइरहेको पनि उनले बताए।
‘कुलमान घिसिङले पनि पार्टी खोल्ने भन्नुभएको छ, उहाँलाई पनि समेट्नुपर्यो। जब लक्ष्य एकै छ भने बाटो किन भिन्न बनाउने,’ उनले भने, ‘यसमा उहाँहरू सबै प्रधानमन्त्री नै हुन चाहने हो भने चाहिँ म छाड्न तयार छु। तर हाम्रो जिम्मेवारी उहाँहरूलाई एकै ठाउँमा ल्याउनु हो।’
जोसुकै प्रधानमन्त्री भए पनि देशको अवस्था परिवर्तन होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend