logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

बाढीपहिरोबाट क्षति पुगेका सडक संरचनाको पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने सरकारको अनुमान


  • जन आकाश
  • बुधबार, असोज २२ २०८२

काठमाडौं । बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ ।



भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुल पुनर्निर्माणका लागि मात्रै १० अर्ब ६८ करोड रुपैयाँ लाग्ने अनुमान गरेको हो । गत वर्षको विपदबाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ बाँकी नै छ । यस वर्षको मनसुनजन्य विपदबाट सबैभन्दा बढी क्षति मेची राजमार्गमा पुगेको छ ।

मेची राजमार्गको पुनर्निर्माणका लागि डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । क्षति भएका कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट मुग्लिङलगायतका राजमार्गको पुनर्निर्माणका लागि झण्डै तीन अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान छ ।

त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ । क्षति पुगेका र सडक सञ्चालनका लागि राख्नु पर्ने बेलिब्रिजका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान छ । वैकल्पिक सडक पुनर्निर्माणका लागि एक अर्ब ५९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालन उच्च प्राथमिकतामा राखी मातहतका निकायले काम गरिरहेको बताए ।

अवरुद्ध सडक सञ्चालन जतिसक्दो छिट्टो सञ्चालनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको र कामको आफू एवम् मन्त्रालयका तर्फबाट नियमित अनुगमन भइरहेको मन्त्री घिसिङको भनाइ छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend