logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

म्यानमारमा अलपत्र १४ नेपालीको उद्धार


  • जन आकाश
  • बिहिबार, कार्तिक २० २०८२

काठमाडौं । म्यानमारमा अलपत्र परेका १४ जना नेपालीलाई नेपाली राजदूतावास, बैंकक (थाइल्यान्ड) ले उद्धार गरी स्वदेश पठाएको छ।उनीहरू विभिन्न प्रलोभनमा परी विभिन्न माध्यमबाट म्यानमारमा पुगेको दूतावासले जनाएको छ।



त्यहाँ अवैधरूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ्ग केन्द्रहरूमा उनीहरूलाई विभिन्न काममा लगाइएको थियो।ती नेपालीहरूलाई नेपाली राजदूतावासले म्यान्मार तथा थाइल्यान्डका सम्बन्धित निकायहरूको समन्वय र सहयोगमा म्यानमारको म्यावडीबाट उद्धार गरेको थियो।

उनीहरूलाई थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै थाइल्यान्ड ल्याई आज ९कात्तिक १९ गते० नेपाल एयरलाइन्सको उडान नं। आरए ४०२ मार्फत नेपाल फर्काइएको हो।

त्यसैगरी, म्यानमारमा रहेका थप ११ जना नेपालीहरूलाई यथासिघ्र नेपाल फर्काउने गरी म्यानमार तथा थाइल्यान्डका सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।

नेपाली दूतावासका अनुसार म्यानमारको म्यावडीमा रहेका विभिन्न स्क्यामिङ्ग केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात ३८ जना नेपालीहरू समेत विभिन्न २८ मुलुकका २००० भन्दा बढी विदेशीहरू थाइल्यान्ड प्रवेश गरेका थिए।

ती नेपालीहरूलाई समेत नेपाल फर्काउनको लागि थाइल्यान्डको सम्बन्धित निकायसँग समन्वय भइरहेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

‘नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्वोडिया, लाओस, म्यानमार थाइल्यान्डलगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा पुनः अनुरोध गर्दछ’ नेपाली राजदूतावास बैंककले भनेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend