जन आकाश
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा आमरण अनशन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आइतबार इलाम जिल्ला अस्पतालमा भर्ना भएका केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनको उपचार त्रिवि शिक्षण अस्पतालमा गरिने केसीको सचिवालयले जनाएको छ।
कात्तिक १४ गते राति अस्पताल भर्ना भएका केसीको स्वास्थ्य परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा निकै कम रहेको र पिसाबमा ‘एसिटोन’को मात्रा बढेको पाइएको थियो। स्वास्थ्य अवस्था थप जटिल बन्न सक्ने देखिएपछि उनलाई काठमाडौं ल्याइएको हो।
चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राख्दै डा. केसीले कात्तिक १३ गतेदेखि इलामको नारायण मन्दिरमा आफ्नो २५औँ सत्याग्रह सुरु गरेका थिए। पूर्वाधारबिना स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा चिकित्सा शिक्षा अध्यापन गराउन अनुमति दिएको भन्दै उनले त्यसको विरोध गर्दै आएका छन्। साथै, स्वार्थको द्वन्द्व देखिने निर्णयहरू खारेज गर्नुपर्ने उनको माग छ।
चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएसमा ११० सिट थप गर्ने निर्णय गरेपछि डा. केसीले आपत्ति जनाएका थिए। आयोगले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट वृद्धि गर्ने निर्णय गरेको थियो।
विशेषगरी नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप गरिएका सिट तत्काल फिर्ता गर्नुपर्ने माग डा. केसीले राख्दै आएका छन्। सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै उनले अनशन सुरु गरेका थिए।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend