logo सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

एक महिनाभित्र सबै स्थानीय तहमा भूमि प्रशासन सेवा सञ्चालन गर्ने सरकारको तयारी


  • जन आकाश
  • सोमबार, कार्तिक १७ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन्।



प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढिसकेको जानकारी दिएका हुन्। उनका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ।

प्रधानमन्त्री शाहले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ ले गरेको व्यवस्थाबमोजिम भूमि प्रशासनका सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्न लागिएको बताएका छन्।

उनले बाँकी रहेका सम्पूर्ण स्थानीय तहबाट समेत आगामी एक महिनाभित्र अनिवार्य रूपमा भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको उल्लेख गरेका छन्। यसका लागि सरकारले स्थानीय तहलाई आवश्यक पर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म राज्य र नागरिकबीचको दूरी घटाउनु हो। राज्यबाट प्राप्त हुने सेवा सुविधाका लागि नागरिक टाढाका कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आवश्यक सेवा नागरिककै नजिक पुर्‍याउनु सरकारको मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

सरकारको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमार्फत प्रवाह गर्ने कामलाई पनि प्राथमिकतामा राखिएको प्रधानमन्त्री शाहले बताएका छन्।

यस पहलबाट स्थानीय तहले भूमि प्रशासनसम्बन्धी आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने र नागरिकले घरआँगनबाटै सहज रूपमा सेवा प्राप्त गर्न सक्ने सरकारको अपेक्षा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend