जन आकाश
काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा हाजिर हुन बोलाएका ११ राजदूतमध्ये चार जनाले राजीनामा दिएका छन्।
राजीनामा दिनेमा बेलायतका लागि राजदूत चन्द्रकुमार घिमिरे, चीनका लागि राजदूत कृष्णप्रसाद ओली, कतारका लागि राजदूत रमेशचन्द्र पौडेल र अमेरिकाका लागि राजदूत लोकदर्शन रेग्मी रहेका छन्। उनीहरूको राजीनामा स्वीकृत भने भएको छैन।
सरकारले कात्तिक २० गतेभित्र नेपाल फर्कन भनेका राजदूतमध्ये रसियाका लागि नेपाली राजदूत मात्र स्वास्थ्यका कारण फर्किएका छैनन्।
राजीनामा नदिएका केही राजदूत भने नियमित मन्त्रालय आउने र हाजिर गरेर फर्कने गरेका छन्। केही राजदूतले भने नेपाल फर्किए पनि बिदामा बसेका छन्।
सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत, र जापानका राजदूतलाई फिर्ता बोलाएको थियो।
उनीहरूलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०८१ साउन १४ गते मन्त्रिपरिषद् बैठकमार्फत राजदूत नियुक्त गरेका थिए। सोही बेला नियुक्त गरिएका अस्ट्रेलिया, भारत, डेनमार्क, श्रीलंका, दक्षिण कोरिया र दक्षिण अफ्रिकामा कार्यरत राजदूतको निर्णय यथावत राखिएको हो।
सर्वोच्च अदालतले कात्तिक १६ गते राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो। तर सरकारले राजदूतहरूलाई काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा हाजिर हुन भनेको थियो। सरकारको आदेशपछि ११ देशमा कार्यवाहक राजदूतले नेपालको प्रतिनिधित्व गरिरहेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले पत्रकारहरूसँगको कुराकानीमा राजदूत फिर्ता गर्नुको तीन कारण दिएकी थिइन्। पहिलो, उनले राजदूतहरूको कार्यसम्पादनबारे सम्बन्धित मुलुकहरूसँग परामर्श गरिएको र त्यस क्रममा उनीहरूको राय बुझेर कार्यसम्पादन चित्तबुझ्दो नभएका राजदूतलाई फिर्ता बोलाइएको बताएकी थिइन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend