जन आकाश
काठमाडौं । आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
स्रोतका अनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८र७९ को पूर्ण कर परीक्षण फूल अडिट गर्ने क्रममा अधिकृत पालले आफूभन्दा माथिका कर अधिकृत प्रकाश राई सहित अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै सुरुवातमै ५ लाख रुपैयाँ घुस मागेका थिए । घुस दिएपछि मात्र अडिट प्रक्रिया अगाडि बढाइने भन्दै कम्पनीसँग आवश्यक सम्पूर्ण कागजात पेस गराइएको आरोप छ।

अडिटका क्रममा कार्यालयले कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँसम्म दायित्व पर्ने जनाएको थियो। कम्पनीले थप कागजात पेस गर्दै जाँदा दोस्रो चरणमा थप ३० देखि ३५ लाख रुपैयाँसम्म कर दायित्व बढ्न सक्ने बताइएको थियो।
यसैबीच कर अधिकृत पालले १२ लाख रुपैयाँ दिए सबै समस्या समाधान गरिदिने प्रस्ताव राखेको र कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि रकम घटाएर ५ लाख रुपैयाँमा सहमति गर्न खोजिएको आरोप छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend