logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

उच्च अदालतबाट फैसला सदरपछि मुना केसीविरुद्ध पक्राउ पुर्जी जारी


  • जन आकाश
  • शुक्रबार, साउन ८ २०८३

काठमाडौं । काठमाडौं जिल्ला अदालतले १७ लाख ९५ हजार रुपैयाँको चेक अनादर सम्बन्धी मुद्दामा प्रतिवादी मुना केसी विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको हो।



अदालतका अनुसार चेक अनादर मुद्दामा मुना केसीबाट १७ लाख ९५ हजार रुपैयाँ बिगो तथा चेकमा उल्लेखित मितिदेखि भुक्तानी नहुँदासम्म वार्षिक १० प्रतिशत ब्याज समेत असुलउपर गर्ने फैसला यसअघि नै भइसकेको थियो। उक्त फैसला उच्च अदालत पाटनबाट समेत सदर भइसकेपछि प्रतिवादीलाई रकम बुझाउने अवसर प्रदान गरिएको थियो।

तर अदालतले दिएको समयसीमाभित्र प्रतिवादीले न बिगो रकम बुझाइन्, न त फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित भइन्। त्यसपछि वादी पक्षको निवेदनका आधारमा अदालतले फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम दुई वर्ष कैदको फैसला कार्यान्वयन गर्ने आदेश जारी गरेको हो।

अदालतको आदेशमा कैद अवधि पूरा भएपछि कानुनबमोजिम बुझाउनुपर्ने बिगो रकम धरौटीमा राखेपछि मात्र प्रतिवादीलाई रिहा गर्न सकिने उल्लेख गरिएको छ।

अदालतको पत्रमा मुना केसीको स्थायी ठेगाना चितवनको रत्ननगर नगरपालिका–२ तथा हालको बसोबास काठमाडौं महानगरपालिका–२६, सामाखुसी रहेको उल्लेख छ।

काठमाडौं जिल्ला अदालतका फैसला कार्यान्वयन अधिकृतले जिल्ला प्रहरी परिसर, काठमाडौंलाई प्रतिवादीलाई पक्राउ गरी आवश्यक सुरक्षासहित अदालतमा उपस्थित गराउन अनुरोध गर्दै पक्राउ पुर्जी जारी गरेका हुन्।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend