जन आकाश
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सचिवालयमा २७ जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला) ले प्रतिनिधि सभा नियमावलीअनुसार सोधेको लिखित प्रश्नको जबाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो।
प्रधानमन्त्री शाहले मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी नियुक्ति गरेको खुलेको हो।साथै राज्यमन्त्री सरहको सुविधा पाउने गरी २ जनालाई नियुक्ति दिएका छन्। नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्री सरहको सुविधा दिएका छन्।
प्रधानमन्त्री शाहले मन्त्रालयको संख्या २२ बाट १८ मा घटाएका थिए। तर उनले आफ्नै सचिवालयमा भने दुई जनालाई मन्त्री सरह र दुई जनालाई राज्यमन्त्री सरह नियुक्ति दिएका छन्।
प्रधानमन्त्रीको सचिवालयमा ४८ जनासम्म राख्न सक्ने व्यवस्था छ।प्रधानमन्त्रीको सचिवालयमा एक जना अवैतनिक स्वास्थ्य सल्लाहकार पनि नियुक्त भएका छन्।कांग्रेस सांसद थपलियाले संसद सचिवालयमा दर्ता गराएको प्रश्नमा प्रधानमन्त्री शाहको सचिवालयमा कुन कानुनअनुसार, कुन तहका, कस्तो सेवा सुविधा पाउने व्यक्ति नियुक्ति भएका छन् भन्ने थियो भने उनीहरूले गाडी सुविधा पाए नपाएको पनि प्रश्न राखेकी थिइन्।
जबाफमा प्रधानमन्त्री कार्यालयका सचिव पुष्कर सापकोटाले मन्त्री सरहका व्यक्तिको नियुक्ति प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ अनुसार गरिएको उल्लेख गरेका छन्। मन्त्री र राज्यमन्त्री सरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई कार्यालयले गाडी र चालक सुविधासमेत दिने गरेको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend