जन आकाश
काठमाडौं । काठमाडौँ र धादिङ जोड्ने देशकै पहिलो आधुनिक सुरुङमार्ग, नागढुंगा सुरुङमार्गको भोलि औपचारिक रुपमा उद्घाटन हुन गइरहेको छ ।
ऐतिहासिक परियोजनाको उद्घाटनपछि सुरुङमार्गमा सवारी साधनको आवागमन कसरी हुन्छ भन्ने आम चासोका बीच आयोजना प्रमुख सौजन्य नेपालले सुरुमा आकस्मिक सवारीलाई मात्र प्रवेश दिने बताए ।
उनका अनुसार उद्घाटन भएलगत्तै सबै प्रकारका सवारी साधनका लागि यो मार्ग तुरुन्तै खुला हुने छैन । बरु यसलाई सुरक्षित र व्यवस्थित बनाउन चरणबद्ध रुपमा सञ्चालनमा ल्याइनेछ ।
आयोजना प्रमुख नेपालले पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधन जस्ता आपतकालीन एवं अत्यावश्यक सवारी साधनहरुलाई मात्र सुरुङमार्ग प्रयोग गर्न दिइने योजना रहेको बताए ।
यसरी सीमित संख्यामा सवारी साधन चलाएर सुरुमा त्यहाँको सुरक्षा स्थिति र ट्राफिक व्यवस्थापनको गहन अध्ययन गरिनेछ । सबै गाडीहरू एकै पटक सुरुङभित्र प्रवेश गराउँदा व्यवस्थापनमा चुनौती थपिन सक्ने भएकाले सुरक्षालाई नै मुख्य प्राथमिकतामा राखेर यस्तो रणनीति अपनाइएको नेपालले जानकारी दिए
सुरुङमार्गमा अत्यावश्यक सवारी साधन चलाएर गरिने यो परीक्षण अवधि करिब एक हप्तादेखि १० दिनसम्मको हुन सक्नेछ । यद्यपि, यदि प्राविधिक तयारी र सुरक्षा जाँचहरु अपेक्षा गरेभन्दा चाँडो सम्पन्न भएमा यो भन्दा छिटो पनि अन्य सवारीका लागि मार्ग प्रशस्त हुने छ ।
यो परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने आपतकालीन सवारी साधनहरूले कुनै पनि प्रकारको दस्तुर वा टोल शुल्क तिर्नु पर्ने छैन । अत्यावश्यक सवारी साधनको सफल परीक्षण र सुरक्षा सुनिश्चितता पछि मात्र सर्वसाधारणका सवारी साधनहरु क्रमिक रुपमा भित्रिन पाउनेछन् ।
यस प्रक्रियामा सुरुमा साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गर्न सकिने र त्यसपछि मात्र बस लगायतका ठूला सार्वजनिक सवारी साधनहरूलाई अनुमति दिइने तयारी भइरहेको छ ।
नेपाले भने, ‘सुरुङमार्गको भौतिक निर्माण र अन्य सबै कार्यहरु पूर्ण रुपमा सम्पन्न भइसकेका छन् । पहिलो पटक सुरुङमार्ग सञ्चालन गर्न लागिएकाले यस क्रममा आउन सक्ने सानातिना प्राविधिक समस्याहरुलाई तत्कालै समाधान ट्रबल सुटिङ गर्न र सुरक्षा व्यवस्था मजबुत बनाउनका लागि नै चरणबद्ध ओपनिङलाई प्राथमिकता दिइएका छौं । यो प्रक्रियाले चालक र यात्रु दुवैको यात्रालाई सुरक्षित र भरपर्दो बनाउने निश्चित गर्नेछ ।’
कुन सवारीलाई कति दस्तुर तत्कालिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा ९१० ले दिएको अधिकार प्रयोग गरी नागढुङ्गा सुरुङमार्ग खण्डमा चल्ने सवारी साधनबाट सुरुङमार्ग उपभोगबापत दस्तुर तोकेको थियो ।
गत साउन २६ गते उक्त निर्णय गरेको र सोही आधारमा राजपत्रमा सूचना प्रकाशित गरी दर सार्वजनकि गरिएको थियो । जसअनसुार कार, भ्यान, पिकअप ट्याक्टर, माइक्रो बस र अन्य हलुका सवारीसाधन काठमाडौँ प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० तोकिएको छ ।
यस्तै मिनी बस, मिनी टिपररट्रकको प्रवेशका लागि ११५ र बाहिरिँदा ८० तथा बस, ट्रक सिङ्गल रियर एक्सल प्रति सवारीसाधन प्रवेश गर्दा २६० र बाहिरिँदा २०० शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रकरसवारीसाधन तथा भारी उपकरणको हकमा प्रवेश गर्दा ६०० र बाहिरिँदा २५० तोकिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend