जन आकाश
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दु ख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने बताएकाछन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत सो प्रतिबद्धता जनाएका हुन् । घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको भन्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीले सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान जानु र घाइते हुनु गम्भीर विषय भएको बताउँदै त्यसबारे अनुसन्धान सुरु भइसकेको भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने बताएकाछन् ।
मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले लेखेका छन्, ‘सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथाशक्य चाँडो गर्नेछ ।’
उनले नागरिकलाई उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम अपनाउन आग्रह गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबैलाई आह्वान गरेका छन् । एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न पनि प्रधामन्त्रीले आह्वान गरेका छन् ।
प्रधानमन्त्रीले लेखेका छन्, ‘फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुस, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमित भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सद्भाव कायम राखौँ ।’
सरकारको पहिलो दायित्व नागरिकको सुरक्षा सुनिश्चित गर्नु, पीडितलाई न्याय दिलाउनु र दोषीलाई कानुनी दायरामा ल्याउनु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सो दायित्व पूरा गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छन् ।
प्रधानमन्त्री शाहले सामाजिक घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend